चक्लाबन्दीमा रोपाई गर्दै धान दिवस मनाइयो

२0७८ असार १५ मंगलवार
चक्लाबन्दीमा रोपाई गर्दै धान दिवस मनाइयो

उदयपुर, असार १५

उदयपुरमा असार १५ गतेको ‘धान दिवस तथा रोपाई महोत्सव’ सदरमुकामनजिकै बहेडवाको चक्लाबन्दी खेतीमा रोपाँई गरेर मनाइएको छ । त्रियुगा नगरपालिका १३ को बहेडवामा रहेको १ सय ५० बिगाह क्षेत्रफल खेतमा सामुहिक रोपाई गरेर दिवस मनाइएको हो । 


त्रियुगा नगरपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि परियोजना (जोन) र जिल्ला समन्वय समितिको संयृुक्त आयोजनामा सामुहिक रोपाई गरेर दिवस मनाइएको हो । त्रियुगा १३ नंं. की वडाध्यक्ष पशुमति चौधरीका अनुसार रोपाईमा जिल्ला समन्वय प्रमुख खड्ग परियार, त्रियुुगा नगरप्रमुख बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाई, कृषि ज्ञानकेन्द्र प्रमुखलगायत सहभागी थिए । 

 

सदरमुकाममाजस्तै जिल्लाका ८ वटै स्थानीयतहहरुले पनि आआफ्नो तरिकाले सामुहिक रोपाई गरेर दिवस मनाएका छन् । ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ दिवस देशभर मनाइदै छ । चालु आर्थिक वर्ष नेपालमा २०७७र७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले जनाएको छ । उक्त परिमाणको धान देशभरका १४ लाख ७३ हजार हेक्टर क्षेत्रफल खेतमा लगाइएको धानबाट उत्पादन भएको हो ।