उदयपुरमा कोविडः १७ संक्रमित, २९ निको

२0७८ असार १४ सोमबार
उदयपुरमा कोविडः १७ संक्रमित, २९ निको

उदयपुर, असार १४

गाउँघरमा कोविड संक्रमितहरु देखिन नछाडे पनि बजारमा भने प्रभाव कम हुँदै गएको छ । केहीदिनयता संक्रमित थपिनेभन्दा निको हुने क्रम बढ्दै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा१७ जना संक्रमित थपिदा २९ जना निको भएका छन् । 


आईतबारको कोविड बिबरण अनुसार ७ महिलासहित १७ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरुमा कटारीमा ८ जना संक्रमित देखिएका छने भने त्रियुगामा ५, चौदण्डीगढीमा ३ र ताप्ली गाउँपालिकामा १ जना देखिएका छन् । त्यस्तै १६ महिलासहित २९ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


स्वास्थ्यको पछिल्लो रिपोर्ट अनुसार जिल्लामा हाल ४ सय ३६ जनाको उपचार भईरहेको छ । जसमा महिला २ सय १६ छन् भने बाँकी पुरुष संक्रमित छन् । त्यस्तै अहिलेसम्म जिल्लाका १ हजार ७ सय ५९ जना संक्रमितहरु निको भएका छन् । जसमा महिला निको हुनेहरुको संख्या ७ सय ८६ जना रहेको छ । 


हाल त्रियुगाका ४४ महिलासहित १ सय ८ जना संक्रमितको उपचार भईरहेको छ भने कटारीका ११ महिलासहित ३१, बेलकाका ६२ महिलासहित १ सय ९ जना उपचारमा छन् । त्यस्तै चौदण्डीगढीमा सबभन्दा बढी ८४ महिलासहित १ सय ४३ जना संक्रमित उपचारको क्रममा रहेको स्वास्थ्यले जनाएको छ । त्यसैगरी ताप्ली गाउँपालिकाका १२ महिलासहित २९ को उपचार चलिरहँदा लिमचुङबुङ गाउँपालिकाका ३ महिलासहित १४ जना उपचारमा रहेका छन् भने उदयपरगढी र रौतामाईका १–१ जना संक्रमित उपचाररत रहेका छन् । 


निको हुनेमा त्रियुगाका ३ सय ४३ महिलासहित ७ सय ६, कटारीका ६६ महिलासहित १ सय ६०, बेलकाका १ सय १९ महिलासहित २ सय ३४ र चौदण्डीगढीका १ सय ३५ महिलासहित २ सय ८४ जना निको भईसकेका छन् । त्यस्तै रौतामाईका ३४ महिलासहित ९२, उदयपुरगढीका २० महिलासहित ५३, लिमचुङबुङका ४ महिलासहित ९७ र ताप्लीका २१ महिलासहित ५३ जना निको भईसकेको स्वास्थ्य कार्यालयका फोकलपर्सन उमेश लुईटेलले बताएका छन् । 


चौदण्डीगढीमा निशेधाज्ञामा कडाई 

अन्य ठाउँमा कोविड संक्रमण कम हुँदै गएका बेला चौदण्डीगढीमा प्रभाव नघटेपछि निशेधाज्ञा कडाई गरिएको छ । केहीदिनयता नगरपालिकाका बिभिन्न गाउँघरतर्फ संक्रमितहरु देखिन नछाडेपछि निशेधाज्ञालाई कडाई गरिएको हो । 


बजारक्षेत्रमा संक्रमण घट्दै गए पनि गाउँघरतिर परीक्षण गर्दा संक्रमण नघटेपछि निशेधाज्ञालाई कडाई गर्ने निर्णय गरिएको नगरप्रमुख खगेन्द्र राईले बताए । उनका अनुसार केहीदिनयता नगरका बिभिन्न वडाका बस्तीहरुमा संक्रमण नघटेकाले निशेधाज्ञालाई अलि कडाई गर्ने निर्णय गरिएको हो । 


असार पहिलो सातापछि जिल्ला प्रशासनले निशेधाज्ञा केही खुकुलो बनाए पनि चौदण्डीगढी क्षेत्रमा भने संक्रमण दर कम नभएका कारण केहीदिन कडाई गर्ने निर्णय गरिएको मेयर राईले बताए । आईतबार सातधारेस्थित उदयपुर कोविड अस्पतालमा ८ महिलासहित ३७ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको छ । 


संक्रमितहरुमध्ये ६ महिलासहित १२ जना अस्पताल भर्ना भएका छन् भने ४ पुरुष होम आईसोलेसनमा राखिएको छ । त्यस्तै अस्पतालको आईसोलेसनमा उपचाररत २० महिलासहित ४६ जनाको परीक्षण गर्दा ३ महिलासहित ६ जना संक्रमणमुक्त भएका छन् । नयाँ पुराना गरी ३२ महिलासहित ७२ जनाको अस्पताल आईसोलेसनमा उपचार भईरहेको कोविड अस्पतालका फोकलपर्सन तेजबहादुर पोखरेलले बताएका छन् ।