‘एक घर एक भैंसी, खाँउ दुध नखाउँ रक्सी’

२0७८ असार १२ शनिबार
‘एक घर एक भैंसी, खाँउ दुध नखाउँ रक्सी’

उदयपुर, असार १२

त्रियुगा नगरपालिका १६ ले वडाबासीलाई भैंसी बितरण गरेको छ । ‘एक घर एक भैंसी, खाँउ दुध नखाउँ रक्सी’ भन्ने नाराका साथ आर्थिकवर्षको सुरुमै नमूनाको रुपमा केही भैंसी बितरण गरेको वडाले किसानहरु लाभान्वित भएको पाइएपछि कार्यक्रमलाई निरन्तरता दिइएको हो । 


वडाकासी किसानलाई आयआर्जन गराउदै आत्मनिर्भर बनाउने उदेश्यले ४० प्रतिशत अनुदान सहयोगमा भैंसी बितरण गरिएको वडाध्यक्ष मानबहादुर राईले बताए । उनका अनुसार वडाको शाहीखोला बस्तीमा आर्थिकवर्षको सुरुमै परीक्षणका लागि बितरण गरिएको केही भैंसीबाट किसानलाई फाईदा भएको पाइएपछि थप कृषकलाई भैंसी बितरण गरिएको हो । 


जस अनुसार शनिबार वडाले व्याङ्ग्री, सिद्रे र शाहीखोलाका १० घर परिवार किसानलाई १–१ वटा भैंसी बितरण गरेको छ । वडाध्यक्ष राईले १ लाख मूल्य पर्ने उन्नत जातको मुर्राक्रस भैंसी ६० हजार मूल्यमा किसानलाई बितरण गरेका हुन् । भैंसी पालनबाट कम्तीमा ५ वटा फाईदा पुग्ने अपेक्षा वडाले गरेको छ । यसले व्यवसायिक भैंसी पालन प्रबद्र्धन हुनुका साथै किसानको आयआर्जन बढेर गरिवी घट्ने अपेक्षा वडाले गरेको छ । 


त्यस्तै पादक पदार्थ सेवनमा कमी आउने हुनाले महिला हिंसा तथा घरेलु हिंसाका दुव्र्यवहारमा कमी आउने अपेक्षा गरिएको वडाध्यक्ष राईले बताए । भैंसी पालनबाट दुधजन्य पदार्थको कारोबार र सेवन हुने भएकाले बालबालिका तथा जेष्ठ नागरिकलाई पोषण हुने भएकाले उनीहरुको स्वास्थ्य अवस्था राम्रो हुने अपेक्षा पनि गरिएको छ । मादक पदार्थ सेवन घट्नाले सामाजिक अपराधमा पनि कमी आउने राईको विश्वास छ ।


वडाले ४० प्रतिशत अनुदानमा भैंसी दिएको हुनाले वडाबासी किसानहरुमा साझेदारी व्यवसाय र कार्यको विकास हुने अर्को फाईदा वडाले देखेको छ । भैंसी पालन व्यवसायलाई प्रबद्र्धन गर्न आगामी दिनमा थप गाउँबस्तीका किसानसम्म यो कार्यक्रम बिस्तार गर्ने लक्ष्य वडाले लिएको छ । पशुपालन तथा कृषि व्यवसायमार्फत वडाले आगामी दिनमा थप कृषिमैत्री कार्यक्रम अघि बढाउने पनि वडाध्यक्ष राईले बताएका छन् ।