अग्निपीडित गोलेलाई संघर्षसिल युवा समाजको सहयोग 

२0७८ असार १२ शनिबार
अग्निपीडित गोलेलाई संघर्षसिल युवा समाजको सहयोग 

उदयपुर, असार १२

ताप्ली गाउँपालिका ४ का आगलागी पीडित रामबहादुर गोलेलाई बिभिन्न देशमा छरिएर रहेका ताप्लीबासी युवाहरुको पहलमा पुनस्थापित गर्न सहयोग प्राप्त भएको छ । कोविड महामारीको चपेटाकै बेला आगलागीमा परी घरबारबिहीन भएर खुल्ला आकाशमुनि बस्न बाध्य गोले परिवारलाई ताप्ली ४ स्थायी घर भई बिभिन्न देशमा वैदेशिक रोजगारीमा रहेका युवाहरुको समूहले सहयोग गरेको हो । 


गाउँमा कुनै बिपतका घट्ना भैपरी आउँदा सक्दो सहयोग गरेर पीडामा मल्हमपट्टी लगाउने उदेश्यले वैदेशिक रोजगारीमा कार्यरत युवाहरुको अनलाईन सञ्जाल ‘संघर्षसिल युवा समाज’ले गोलेलाई घरको छानो छाउने जस्ता र घर बनाउन नगद सहयोग प्रदान गरेको हो । कोरिया, मलेसिया र बिभिन्न देशमा कार्यरत तथा देशकै बिभिन्न पेशा व्यवसायमा रहेका युवाहरुबाट संकलन गरिएको रकमले गोलेलाई सहयोग जुटाइएको कोरियामा कार्यरत ताप्ली ४ का युवा सुरज किरातीले बताए । 


किरातीका अनुसार उदयपुरका ताप्ली, लिमचुङबुङ, उदयपुरगढी, रौतामाई, बेलका, कटारी तथा पाँचथर, इलाम, तेरथुमलगायत बिभिन्न ठाउँ घर भई कोरियामा कार्यरत २९ युवाबाट गोलेका लागि ५८ हजार १ सय ८२ संकलन भएको थियो । त्यस्तै मलेसियामा रहेका भोजपुरका ज्वाला राई, उदयपुरका पर्शुराम राई, कनक राई, रोमन मगर, सरोज मगरलगायतबाट १९ हजार ४ सय संकलन भएको किरातीले बताए । यसमाथि खोटाङ घर भई बेलायतमा बसोबास गर्दै आएकी रमाईलो खोटाङ संस्थाकी अध्यक्ष मीना गुरुङले १० हजार र नेपालमै संकलित ताप्लीकै युवाहरुबाट प्राप्त २७ हजार ९ सय ४४ रुपैंया गरी १ लाख १५ हजार २ सय २६ रुपैंयाले गोलेलाई सहयोग गरिएको उनले बताए । 


संकलित रकमबाट खरिद गरिएका बिभिन्न सामग्री नेकपा (माओबादी केन्द्र) उदयपुरका सदस्य तथा ताप्ली गाउँ कमिटी अध्यक्ष ढुंगराज विकले हस्तान्तरण गरे । बिभिन्न देशबाट संकलिन रकमबाट खरिद गरिएका सामग्री माओबादी केन्द्रनिकट वाईसिएल नेपालका जिल्ला अध्यक्ष ज्ञानेन्द्र मगरको पहलमा पीडित गोलेको घरसम्म लगेर हस्तान्तरण गरिएको स्थानीय शिक्षक मिलन लो तामाङले बताएका छन् । 

गोलेलाई सहयोग प्रदान गर्दै नेकपा माके अध्यक्ष विक । तस्विरः मुलुकी