किरातसम्बन्धी अध्ययन गर्न पाठ्यक्रम तयार 

२0७८ असार ११ शुक्रबार
किरातसम्बन्धी अध्ययन गर्न पाठ्यक्रम तयार 

अव नेपालमा किरातसम्बन्धी अध्ययन गर्न औपचारिक रुपमै पाइने भएको छ । सरकारले नेपाल खुला विश्वविद्याल (एनओयु)मा अध्ययन अध्यापन गर्नेगरी किरातसम्बन्धी छुट्टै विषयको पाठ्यक्रम तयार गरेपछि यो अवसर मिल्ने भएको हो । 


एनओयुले अव स्नातक तहको समाजशास्त्र विषयमा औपचारिक रुपमै किरातसम्बन्धी पाठ्यक्रम तयार गरेर अध्ययन अध्यापनको मार्ग प्रसस्त गरेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारामणि राईले बताए । उनका अनुसार त्यसका लागि एनओयुले स्नातक तहमा ऐच्छिक विषय (Optional Subject) मा किरातसम्बन्धी अध्ययन गर्ने सबै तयारी पुरा भएको छ । 


डा. राईका अनुसार एनओयुको अनुरोध अनसार भाषाशास्त्री प्राध्यापकहरुको समूहले झण्डै दुई महिना लगाएर किरातसम्बन्धी १६ वटा विषय समेटिएको पाठ्यक्रम तयार गरेर विश्वविद्यालयलाई बुझाएको छ । सो पाठ्यक्रमलाई  एनओयुले औपचारिक रुपमै पारित गरेर पठनपाठनको लागि स्वीकृति दिएको राईले बताए । 


एनओयुले पठनपाठनको स्वीकृति दिएसँगै किराती विषयमा बृहत अध्ययन अध्यापन गर्ने ढोका खुलेको र यो ऐतिहासिक भएको प्रा. डा. राईले बताए । उनले यो नेपालको शैक्षिक इतिहासमा पहिलो भएको पनि बताएका छन् । 


‘एनओयुले समाजशास्त्रको स्नातक तहमा किरातसम्बन्धी पाठ्यक्रम राख्ने भएपछि हामीले दुई महिना लगाएर १६ वटा पेपरको कोर्स कन्टेन्टस् तयार गरी केही समयअघि बुझाएका थियौं’ डा. राईले आफ्नो फेसबुक टाईमलाईनमा लेखेका छन्  ‘अव किरातसम्बन्धी पाठ्यक्रमलाई औपचारिक मान्यता दिएको जानकारी प्राप्त भयो । सम्भवतः किराती विषयमा बृहत अध्ययन हुनेगरी बनेको कोर्स यो नै पहिलो हुन सक्छ ।' 


डा. राईले पाठ्यक्रम स्वीकृत गरी अध्ययन अध्यापन गराउने निर्णयप्रति नेपाल खुल्ला विश्वविद्यालयलाई विशेष धन्यवाद पनि दिएका छन् ।