विद्युत पोल चढ्दा करेन्टले एकको निधन

२0७८ असार ११ शुक्रबार
विद्युत पोल चढ्दा करेन्टले एकको निधन

माझखर्क, असार ११

उदयपुरको लिमचुङबुङ ३ मा एक युवाको करेन्ट लागेर ज्यान गएको छ । जिल्लाको ताप्ली गाउँपालिका २ स्थायी घर भई  लिमचुङबुङ ३ दोबाटेस्थित ससुराली घरमा बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर निधन भएको हो । 


इलाका प्रहरी कार्यालय लिमचुङबुङलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार भैंसी चराउन गएका परियार शुक्रबार दिउसो १ः०० बजे विद्युतको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको हो । उनको मृत्युबारे स्थानीयले टेलिपोनमार्फत जानकारी गराएपछि इलाका प्रहरी कार्यालय लिमचुङबुङबाट टोली खटेको छ ।


जिल्ला प्रहरी कार्यालय उदयपुरबाट पनि थप टोली अनुसन्धानका लागि घट्नास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टोली पुगेपछि घट्नास्थलको सर्जजमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन् ।