३
२0७८ असार ११ शुक्रबारउदयपुर, असार ११
उदयपुरका सबै स्थानीयतहहरुले आगामी आर्थिकवर्षको बजेट तथा नीति कार्यक्रम ल्याएका छन् । असार १० गतेभित्र आागमी आर्थिकवर्षको नीति तथा कार्यक्रम र बजेट अनिवार्य पेश गर्नुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार जिल्लाका ८ वटामध्ये कटारीबाहेक ७ पालिकाले बिहीबार वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।
जिल्लाका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपुरगढी, रौतामाई, लिमचुङबुङ र ताप्ली गाउँपालिकाले वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत भएकामध्ये कतिपय स्थनीयतहको नीति कार्यक्रम र बजेट बिहीबारै पारित भईसकेको छ भने केहीको स्थगत भएको छ ।
३ नगरपालिका र ४ गाउँपालिकाले ल्याएको बजेटको कुल अंक ४ अर्ब ५७ करोड १६ लाख ३२ हजार ४० रुपैंया रहेको छ । जसमध्ये सबभन्दा ठूलो बजेटको आकार त्रियुगा नगरपालिकाको छ । त्रियुगाले १ अर्ब १८ करोड हाराहारीको बजेट ल्याएको छ । चौदण्डीगढीले पौने ७५ करोडको बजेट ल्याउँदा नगरपालिकामध्ये सबभन्दा सानो बजेट बेलकाले ७० करोड हाराहारीको ल्याएको छ ।
गाउँपालिकातर्फ उदयपुरगढीले ६६ करोड बढीको बजेट ल्याउँदा रौतामाईले ५२ करोड, लिमचुङबुङले ४२ करोड र ताप्लीले ३३ करोडको बजेट ल्याएका छन् ।
त्रियुगाको बजेट १ अर्ब १८ करोड
जिल्लाकै जेठो नगरपालिका अर्थात सदरमुकामको त्रियुगाले सबभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ । त्रियुगा नगरप्रमुख बलदेव चौधरीले १ अर्ब १७ करोड ९६ लाख ९४ हजार ४ सय ५० रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । त्रियुगाले आम्दानीतर्फ सशर्त अनुदान ५२ करोड ८० लाख, विशेष अनुदानतर्फ २ करोड ४९ लाख, सम्पूरक अनुदानतर्फ १ करोड ५६ लाख, बित्तीय समानीकरण २२ करोड २५ लाख अनुमान गरेको छ ।
त्यस्तै, राजश्व बाँडफाड १६ करोड १४ लाख ४६ हजार, आन्दरिक कोष ९ करोड ७० लाख आय हुने अनुमान गरेको छ । प्रदेशसभा समानीकरण १ करोड ३२ लाख ५९ हजार र प्रदेशसभा सवार साधन कर १ करोड ७२ लाख ७९ हजार ९ सय ५० रुपैंयालाई पनि त्रियृगाले वार्षिक आयस्रोतको रुपमा प्रक्षेपण गरेको छ ।
त्रियुगाले नगरपालिकाले वडाहरुका लागि २० करोड रकम बिनियोजन गरेको छ । त्यसका लागि १६ वडा वडा प्रत्येकलाई १ करोड २५ लाखका दरले बिनियोजन गरिएको छ । १६ नं. वडालाई १ करोड १५ लाख अतिरिक्त रकम पनि नगरसभाले बिनियोजन गरेको छ । बहुवर्षीय भवन निर्माणका लागि बिनियोजित उक्त रकममा वडाले १५ प्रतिशत सहभागिता जुटाउनुपर्ने नीति कार्यक्रममा उल्लेख छ ।
वडालाई बिनियोजित १ करोड २५ लाख रुपैंयामध्ये २५ लाख नगरपालिकाले निर्धारण गरेको पूर्वाधार शीर्षकमा बिनियोजन गर्नुपर्नेछ भने बाँकी १ करोडबाट ऐलानी जग्गा व्यवस्थापन, बिपत, शिक्षा, स्वास्थ्य, पर्यटन, सहकारी, महिला, आदिबासी जनजाति, एकल महिला, बृद्धबृद्धा तथा बालबालिका, पर्व महोत्सव, अपांगता, कृषि र पशुपालनलगायत विषयमा खर्च गर्नुपर्ने नीति लिइएको मेयर चौधरीले बताएका छन् ।
चौदण्डीगढीको बजेट पौने ७५ करोड
त्यसैगुरी अर्को नगरपालिका चौदण्डीगढीले ७४ करोड ७१ लाख ९५ हजारको वार्षिक आयव्यय अघि सारेको छ । उपमेयर रीताकुमारी चौधरीले प्रस्तुत गरेको वार्षिक बजेटमा ससर्त अनुदानतर्फ ३१ करोड ९३ लाख, विशेष अनदान १ करोड २५ लाख, संघीय सरकारको समानीकरण १५ करोड ६ लाख, राजस्व बाँडफाट ५ करोड ७२ लाख ८१ हजार प्रक्षेपण गरिएको छ ।
त्यस्तै प्रदेश सरकारको समानीकरण ८७ लाख ६९ हजार, प्रदेश सरकार सवारी साधन करवावत १ करोड ६७ लाख १४ हजार आय अनुमान गरिएको छ । थप आयतर्फ प्राकृतिक श्रोतसाधन नदीजन्य बस्तु उत्खनन १ करोड ६० लाख, घरजग्गा रजिष्ट्रेसन शुल्क १ करोड र अन्य आन्तरिक आय १ करोड ९० लाख अनुमान गरिएको नगरप्रमुख खगेन्द्र राईले बताएका छन् ।
प्रस्तुत अनुमानित बजेट १० करोड ९७ लाख अपुगको रहेको छ । वार्षिक नीति कार्यक्रममा कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, महिला तथा बालबालिका, युवा तथा खेलकुद र पूर्वाधारतर्फ जोड दिइएको छ । त्यस्तै बिपद व्यबस्थापन, आयआर्जन र रोजगारमुलक कार्यक्रममा पनि वार्षिक बजेटले स्थान दिएको मेयर राईले बताएका छन् ।
बेलकाको पौने ७० करोड
जिल्लाको कान्छो नगरपालिका बेलकाले पनि बिहीबारै बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको छ । बेलकाले ६९ करोड ७६ लाख ४५ हजारको वार्षिक बजेट प्रस्तुत गरेको छ ।
उदयपुरगढीले ल्यायो ६६ करोड
उदयपुरगढी गाउँपालिकाले ६६ करोड ७ लाख १० हजार ५ सय ७० रुपंैयाको वार्षिक बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले प्रस्तुत गरेको बजेटमा आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त सशर्त अनुदान २५ करोड ४३ लाख, बित्तीय समानीकरण १६ करोड ४ लाख, राजश्व बाँडफाट ९ करोड ५८ लाख ३३ हजार र आन्तरिक आयतर्फ ७० लाख अनुमान गरिएको छ ।
त्यस्तै प्रदेशतर्फ राजश्व बाँडफाट ५२ लाख ८२ हजार ५ सय ७०, सशर्त अनुदान ३३ लाख ३७ हजार, वित्तीय समानीकरण ९५ लाख ५८ हजार, सम्पूरक १ करोड रकमलाई गाउँपालिकाले आयस्रोत मानेको छ ।
व्यय अनुमानतर्फ म्याचिङ फन्डमा १ करोड ५० लाख बिनियोजन गरिएको छ भने पूर्वाधार विकासतर्फ ९ करोड ४ लाख ५८ हजार, सामाजिक विकासतर्फ ४ करोड, आर्थिक विकास २ करोड र सुशासन तथा संस्थागत विकासतर्फ १ करोड ५० लाख बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए ।
रौतामाईले ५२ करोडको ल्यायो
त्यसैगरी रौतामाई गाउँपालिकाले ५२ करोड ३३ लाख ८ हजार ९ सय ६० रुपैंयाको वार्षिक बजेट ल्याएको छ । बिहीबारै आयोजित गाउँ अधिवेशनमा प्रस्तुत उक्त आकारको बजेट तथा नीति कार्यक्रम गाउँसभाले पारित गरेको अध्यक्ष गजेन्द्र खड्काले बताए ।
लिमचुङबुङको बजेट ४२ करोड
बिहीबारै प्रस्तुत लिमचुङबुङ गाउँपालिकाले ४२ करोड ८० लाख २१ हजार रुपैंयाको बजेट अघि सारकोे छ । ‘समृद्ध लिमचुङबुङको आधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसहितको पूर्वाधार’ भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले प्रस्तुत गरेको बजेटमा आयतर्फ संघीय सरकारको सशर्त अनुदान १४ करोड ६३ लाख, राजश्व बाँडफाट ५ करोड ५१ लाख ६५ हजार, विशेष अनुदान २ करोड ४९ लाख रहेको छ ।
त्यस्तै सम्पूरक अनुदान १ करोड २५ लाख, वित्तीय समानीकरण ७ करोड ३२ लाख, प्रदेशतर्फ सशर्त अनुदान १९ करोड ७८ लाख, बित्तीय समानीकरण ३९ लाख ७५ हजार, राजश्व बाँडफाट ३५ लाख र सम्पूरक १ करोड अनुमान गरिएको छ । चालु वर्षको खर्च हुन बाँकी अल्या ६ करोड ८० लाख र आन्तरिक आय अनुमान १५ लाख गरेको प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताएका छन् ।
व्ययतर्फ लिमचुङबुङले सबभन्दा बढी बजेट पूर्वाधारतर्फ १० करोड १९ लाख बिनियोजन गरेको छ भने सामाजिक विकासतर्फ ३ करोड २२ लाख ९० हजार र आर्थिक विकासतर्फ ९६ लाख ५० हजार छुट्याएको छ । त्यस्तै सुशासन तथा क्षमता विकासका लागि २३ लाख, न्यायिक समितिलाई ७ लाख र हरेक वडागत बजेट चालुवर्ष ५ लाखसहित ३५ लाखका दरले सिलिङ तोकेको छ । लेखा अधिकृत ताराकिरण राईका अनुसार गाउँसभाले बिपत व्यवस्थान कोषलाई ४३ लाख र कोविड कोषलाई २२ लाख गरी कोषतर्फ ६५ लाख रकम बिनियोजन गरेको छ ।
ताप्लीको साढे ३३ करोड
अर्को पहाडी गाउँपालिका ताप्लीले आगामी ३३ करोड ५० लाख ५७ हजार ६० रुपैँयाको वार्षिक बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष कमलमाया राईले प्रस्तुत गरेको बजेटमा सशर्त, सम्पूरक र विशेष अनुदान गरी १८ करोड ३९ लाख रहेको छ ।
बाँकी रकम चालुतर्फ ४ करोड र राजश्व बाँडफाट, समानीकरण, प्रदेश समानीकरण, प्रदेश राजश्व, सम्पूरक र आन्तरिक आय गरी २९ करोड ५० लाख रहेको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए ।