जंगलको भीरमा सडेको लास फेला

२0७८ असार ९ बुधबार
जंगलको भीरमा सडेको लास फेला

उदयपुर, असार ९

उदयपुरमा सडिसकेको अवस्थामा अज्ञात व्यक्तिको लास प्रहरीले फेला पारेको छ । कटारी नगरपालिका ५ सहलेस जंगलको बाटोदेखि अन्दाजी २० फिट तल भीरालो पाखामा सडिसकेको अज्ञात व्यक्तिको लास मंगलबार दिउसो स्थानीयले देखेर प्रहरीलाई खवर गरेका थिए । 


प्रत्यक्षदर्शीको टेलिफोनमार्फत खवर गरे अनुसार इलाका प्रहरी कार्यालय कटारीबाट खटेको निरीक्षक कमाण्डको टोलीले घट्नास्थलबाट सडेगलेको अवस्थाको लास बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रातो सर्ट, कालो कटन पाइन्ट, सेतो सेन्डो भेस्ट लगाएको पुरुषको लास सडेर औंसा परिसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार लास सडिसकेर हाडहरु छरपस्ट अवस्थामा रहेकाले मान्छे पहिचान गर्न गाह्रो भएको छ । घट्नास्थलबाट सर्जमिन मुचुल्का गरी ल्याएको लास कटारी अस्पतालमा बुधबार पोष्टमार्टम गरी दाहसंस्कारका लागि नगरपालिकालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । नगरपालिकाले बुधबारै लासको अन्त्यष्टी गरेको जनाएको छ ।