अन्तराष्ट्रिय नेपाली समाजको पत्रकारलाई अक्सिजन सिलिण्डर

२0७८ असार ९ बुधबार
अन्तराष्ट्रिय नेपाली समाजको पत्रकारलाई अक्सिजन सिलिण्डर

उदयपुर, असार ८

कोविडविरुद्ध अग्रपंगितमा खट्ने पत्रकारहरुलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपाली हातहरु निरन्तर लागिरहेका छन् । यसै क्रममा नेपाली साहित्यकारहरुको विश्वव्यापी संस्था ‘अन्तराष्ट्रिय नेपाली समाज (इन्स)’ले मंगलबार उदयपुरका पत्रकारहरुलाई १ थान अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको छ । 


इन्सका उपाध्यक्ष झलक बुढाथोकी र महिला उपाध्यक्ष नजबुल खानसहितको टोली नेपाल पत्रकार महासंघ कार्यालयमै पुगेर महासंघलाई ४० लिटर क्षमताको अक्सिजनसहितको सिलिण्डर, मास्क र सेनिटाईजर अध्यक्ष भरत खड्का र उपाध्यक्ष गंगा राईलाई हस्तान्तरण गरे । सामग्री प्रदान गर्दै उपाध्यक्ष बुढाथोकीले कोविड कहरमा अग्रपंतिमा रहेर खट्दै आएका पत्रकारलाई संक्रमणबाट बँचाउने उदेश्यले अक्सिजन सिलिण्डर प्रदान गरिएको बताए । 


कोविडका संभावित संक्रमितको उपचार गर्ने उदेश्यले महासंघ भवनमै ५ बेठको आईसोलेसन सेन्टर एकमहिनाअघि नै स्थापना गरिएको छ । प्राप्त अक्सिजन सिलिण्डर त्यहीँ प्रयोग गर्नका लागि इन्सले सहयोग गरेको जनाएको छ । इन्सका महिला उपाध्यक्ष तथा आभासा अभियन्ता नजबुल खानका अनुसार मलेसिया, अमेरिकामा रहेका माथबरसिंह राउत, कोरियामा रहेका सन्देश बुढाथोकी, पोर्चुगलमा दुर्गा राई तथा इन्सको नेपाल राष्ट्रिय समितिका सदस्यहरु रुपा राई र गणेश खत्रीको सहयोगबाट संकलित रकमबाट अक्सिजन सिलिण्डरलगायत सामग्री जुटाइएको हो । 


स्वास्थ्य सामग्री बुझ्दै महासंघका अध्यक्ष खड्काले सहयोगी संस्था र शुभचिन्तकलाई धन्यबाद दिए । उनले कोविड कहरमा रिपोर्टिङ गर्न अत्यन्त गाह्रो भए पनि सहयोगी हातहरुको मायाले पत्रकारितामा थप उत्साह बढ्दै आएको बताए । उनले प्राप्त अक्सिजन महासंघले सञ्चालनमा ल्याएको आईसोलेसनमा प्रयोग गर्ने र अन्य स्वास्थ्य सामग्री पत्रकारहरुलाई बितरण गर्ने प्रतिबद्धता पनि जनाए ।