निशेधाज्ञा एकसाता थप, पसल-बजार साँझ ६ः०० बजेसम्म खुल्ने

२0७८ असार ७ सोमबार
निशेधाज्ञा एकसाता थप, पसल-बजार साँझ ६ः०० बजेसम्म खुल्ने

उदयपुर, असार ७

उदयपुरमरा निशेधाज्ञा खुकुलो पार्दै थप एकसाता लम्ब्याउने निर्णय भएको छ । वैशाख २५ देखि सुरु निशेधाज्ञाको छैठौं साता सोमबार सकिदै गर्दा अर्को एकसाता जारी राख्ने निर्णय जिल्ला बिपत व्यवस्थापन समिति (डिसिएमसी)ले गरेको हो । 


आईतबार बसेको बैठकले निशेधाज्ञा असार १५ सम्म जारी राख्ने तर, बजार पसल केही खुकुलो पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तथा समिति अध्यक्ष तुलसीराम सेंढाईले बताए । उनका अनुसार असार मसान्त नजिकिएका कारण विकास निर्माणका काममा बाधा नपार्न र सर्वसाधारणको दैनन्दिन जीवन सहज बनाउन बजार पसल खुकुलो पार्ने नियर्णय भएको छ । जस अनुसार यसअघि विहान ७ः०० देखि १२ः०० बजेसम्म मात्र खुल्दै आएको बजार पसल अव विहान ६ः०० देखि साँझ ६ः०० बजेसम्म खुल्न दिइने छ । 


त्यस्तै बैंक, बित्तीय संस्थाहरु, दुईपांग्रे सवारीसाधन पनि कोविड सुरक्षा सतर्कता अपनाएर चल्न दिइने छ । सार्वजनिक यातायात भने अहिले चल्न नदिने निर्णय भएको सेंढाईले बताए । सैलुन, स्वीमिङ पुल, पाटी प्यालेस र व्युटीपार्लर पनि खोल्न पाइने छैन । 


अत्यावश्यकका काममा बाहेक जथाभावी आउजाउ र सवारी सञ्चानलमा निन्त्रण कायमै राखिने भएको छ । ‘लामो समयदेखि जारी निशेधाज्ञा अव बिस्तारै खुकुलो पार्दै लाने निर्णय भयो’ सेंढाईले भने ‘सर्वसाधारणको दैनिक जीवन गुजारालाई पनि मध्येनजर राखेर, विकास निर्माणका कामहरु सहज बनाउन पनि खुकुलो पारिएको हो ।’


अहिले पनि जिल्लामा कोविड संक्रमण भने नियन्त्रणमा आईनसकेको उनले बताए । वजारतिर संक्रमण घट्दो र विरामी निको हुने क्रम बढे पनि गाउँघरमा अझै संक्रमण नघटेकाले सचेत हुनुपर्ने आवश्यकक्ता रहेको सिडिओ सेंढाईको भनाई छ । 


निर्माणको काममा भने यसअघि पनि पूर्णत बन्देज लगाइएको थिएन । सुरुका दुईसाता निर्माण सामग्री बिक्री गर्ने पसलहरु बन्द गरिएको थियो भने ओसारपसार गर्ने सवारी साधनलाई पास दिएर काम सुचारु राखिएको थियो । पछिल्लो सातायता भने पसल र सवारी साधन खुल्ला गरिएको छ ।