यो वर्ष पनि विकासे पैसा फ्रिज हुने, कुन स्थानीयतहले कति निकासा लगे ?

२0७८ असार ६ आईतवार
यो वर्ष पनि विकासे पैसा फ्रिज हुने,  कुन स्थानीयतहले कति निकासा लगे ?

महेश्वर चामलिङ  
उदयपुर, असार ६

कोविडका कारण यसवर्ष पनि विकास बजेट (पुँजीगत रकम) खर्च हुन नसकेर फ्रिज हुने भएको छ । आर्थिकवर्ष (साल तमामी) सकिन ३ हप्ता मात्र बाँकी रहँदा जारी निशेधाज्ञाका कारण विकास निर्माणको काम समयमा गर्न नसकिने हुँदा यो वर्ष पनि पैसा फ्रिज हुने निश्चित छ । 


उदयपुरमा कोविड नियन्त्रण गर्ने भन्दै प्रशासनले वैशाख २५ देखि जिल्लाभर निशेधाज्ञा लगाउँदै आएको छ । आउँदो ७ गतेसम्म कायम रहने निशेधाज्ञा अझ १ साता बढाउनुपर्ने मनसाय प्रशासनको छ । गाउँगाउँमा अझै संक्रमण देखिन नछाडेका कारण पनि निशेधाज्ञा खुकुलो पारे पनि रोकिहाल्ने अवस्था नभएको प्रशासनको धारणा छ । 


असार पहिलो सातासम्म कोविडले विकास निर्माणका योजनाको काम हुन सकेको छैन । वैशाख तेस्रो सातादेखि लगातार जारी निशेधाज्ञाका कारण पुँजीगत रकम ६० प्रतिशत पनि खर्च हुन नसकेको अवस्थामा अझै निशेधाज्ञा खुल्ने निश्चित नभएकाले यो वर्ष पनि बजेट खर्च गर्न हम्मे हुने अनुमान गरिएको छ । 


स्थानीयतहले ८० प्रतिशत रकम निकास लगिसके 

उदयपुरका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा स्थानीयतह सबैमा ० प्रतिशत हाराहारी रकम कोलेनिकाले निकासा दिइसकेको छ । स्थानीयतहका लागि बिनियोजित २ अर्ब ९ करोड ५६ लाख ५९ हजार २ सय ८७ बजेटमध्ये २ अर्ब ३७ करोड २३ लाख ३१ हजार ९ सय ९० रुपैंया अर्थात ७९.४५ प्रतिशत निकासा भईसकेको आचार्यले बताए । 


जस अनुसार त्रियुगा नगरपालिकाका लागि बिनियोजित ७७ करोड ४३ लाख २ हजार ३ सय ५० मध्ये ७२ करोड ६९ लाख ६५ हजार ६ सय ४८ रुपंैया निकासा भईसकेको छ । जुन ९३.८८ प्रतिशत हो । त्यस्तै कटारीको ५२ करोड ३६ लाख ६९ हजार ६ सय २० मध्ये ४८ करोड २९ लाख १६ हजार ६ सय ६ रुपैंया अर्थात ९२.२१ प्रतिशत निकासा लगिसकेको छ । 


त्यसैगरी चौदण्डीगढी नगरपालिकाको ५१ करोड २६ लाख ८३ हजार ४ सय ७७ मध्ये ४७ करोड ३९ लख ५१ हजार १ सय ६४ रुपैंया अर्थात ९२.४४ प्रतिशत निकासा भईसकेको छ । बेलका नगरपालिकाको ४३ करोड ३१ लाख ३२ हजार ८ सय ५० मध्ये ३७ करोड ३१ लख ८७ हजार ४ सय ६६ रुपैंया अर्थात ८६.१६ प्रतिशत निकासा भईसकेको आचार्यले बताए । 


उता गाउँपालिकातर्फ उदयपुरगढीलाई बिनियोजित ४१ करोड १७ लाख १५ ह जार २ सय ७० मध्ये ३३ करोड ४१ लाख १ हजार ७ सय ३५ निकासा दिइसकेको कोलेनिकाले रौतामाईलाई ३६ करोड ९४ लाख १२ हजार ८ सय ९० मध्ये ३१ करोड ५६ लाख ४७ हजार १ सय ४ रुपैंया निकासा दिइसकेको छ । 


त्यसैगरी ताप्लीका लागि बिनियोजित २५ करोड ४० लाख १४ हजार ३ सय ५० मध्ये २० करोड ७५ लाख २७ हजार ५ सय ९६ र लिमचुङबुङको २३ करोड ३ लाख ९८ हजार ५ सयमध्ये १८ करोड ५० हजार ३ सय १९ निकासा गरिसकेको सूचना अधिकारी आचार्यले बताएका छन् ।