२३ थान गोलीया काठसहित ट्याक्टर पक्राउ

२0७८ असार ३ बिहीबार
२३ थान गोलीया काठसहित ट्याक्टर पक्राउ

उदयपुर, असार ३

अवैध गोलीया काठ बोकेको ट्याक्टर उदयपुरमा पक्राउ परेको छ । सव डिभिजन वन कार्यालय बेलका नगरपालिका १ खरीखोलाबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश नं. १०२–००३ त १३८६ को ट्याक्टर इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाले भेटेर पक्राउ गरेको हो । 


डिभिजन वन कार्यालय गाईघाटतर्फ ल्यउँदै गरेको २३ थान गोलीया काठ बोकेको ट्याक्टर बुधबार राति ८ः३० बजे गस्ती प्रहरीले भेटेर सोधपुछ गर्दा आधिकारिक कागजात नभेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 
    

पक्राउ काठ र ट्याक्टर थप अनुसन्धानका लागि बिहीबार विहान डिभिजन वन कार्यालय उदयपुरको जिम्मा लगाइएको छ ।  पक्राउ काठको परिमाण भने खुलिसकेको छैन । डिभिजन वन कार्यालयले काठको नापजाँच गरेपछि मात्र परिमाण खुल्ने प्रहरीले जनाएको छ । 


प्रहरीले एकवर्षयता वन पैदाबार, नदीजन्य पदार्थको दुरुपयोग रोक्ने अभियान थालेको जनाएको छ । काठ, ढुंगा, गिटी, बालुवा र जडिबुटीजन्य वस्तुहरु दुरुपयोग गर्ने गरेको पाइए नियन्त्रण गरेर कारबाही गर्दै आएको प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन् ।