जसपा नेता पेस्तोल र चन्दा रसिदसहित पक्राउ 

२0७८ असार ३ बिहीबार
जसपा नेता पेस्तोल र चन्दा रसिदसहित पक्राउ 

उदयपुर, असार ३

जनता समाजबादी पार्टी (जसपा) उदयपुरका सदस्य तथा पूर्व माओबादी लडाकु स्वचालित हतियार पेस्तोलसहित पक्राउ परेका छन् । अवैध हतियार घरमा लुकाई राखेको अवस्थामा खानतलासी गर्न गएको प्रहरीले त्रियुगा नगरपालिका ३ मोतिगडाका ५० वर्षीय प्रशुराम चौधरीलाई पेस्तोल, त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित बुधबार राति साढे १०ः०० बजे घरैबाट पक्राउ गरेको हो । 

 

मोतिगडामै रहेकी कान्छी श्रीमतिको घरमा लुकाएर राखेको ‘मेड इन युएसए’ लेखिएको पेस्तोल, ९ एमएमको ५ राउण्ड गोली, माओबादी पार्टीको रसिद र बिभिन्न संगठनको चन्दा रसिदसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चौधरी तत्कालीन नेकपा (माओबादी)को १० वर्षे सशस्त्र द्वन्द्वताका लडाकु र पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि जिल्ला कमिटी सदस्य, पार्टीनिकट मजदुर संगठन जिल्ला संयोजक भएर काम गरेका थिए । पार्टीबाट असन्तुष्ट उनी ०७७ माघ ४ गते जसपामा प्रवेश गरेर जिल्ला सदस्य थिए ।


प्रहरी प्रमुख एसपी भीम दाहालले चौधरीको घरबाट पेस्तोलसँगै नेकपा (माओबादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघको ८ ठेली चन्दा रसिद पनि बरामद भएको बताए । त्यस्तै, नेकपा (माओबादी केन्द्र) को ३ थान रसिद र अखिल नेपाल मजदुर संघ लेखिएको ८५ थान सदस्यता पत्र पनि उनीबाट बरामद भएको दाहालले बताए । चौधरीले जनयुद्धकालदेखि नै आफुसँग हतियार रहेको स्वीकारेको पनि दाहालले बताएका छन् । 


कान्छी श्रीमतिसँगको झगडा र उनीपटिकी झटकेली छोरीको एक युवकसँगको प्रेस सम्बन्धले आफु पक्राउ परेको चौधरीले प्रारम्भिक बयान दिएका छन् । दुई छोरीकी आमासँग दोस्रो बिहे गरेर अलग्गै घरमा राखेका चौधरीले झट्केली छोरीसँग प्रेम सम्बन्धमा रहेका सप्तरीको सुरुङ्गा नगरपालिका ८ का २३ वर्षीय बबि चौधरीलाई फसाउन हतियार राखेकोमा आफै फसेको दाहालले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानले चौधरीको कान्छी श्रीमतिसँग लामो समयदेखि बेमेल हुदै आएको खुलेको छ । त्यसमाथि झटकेली छोरीसँग प्रेममा रहेका सप्तरीका युवा बिहे नगरे पनि घरज्वाईजस्तै आएर ढुक्क बस्दै आएकाले फसाउन खोज्दा आफै पसेको अनुसन्धानले देखाएको छ ।


चँैधरीमाथि हात हतियार तथा खरखजना ऐन अनुसार कारबाही गर्नेगरी अनुसन्धान सुरु भएको दाहालले बताएका छन् । पेस्तोल र गोलीसँगै बिभिन्न संघसंगठनका चन्दा रसिद र सदस्यतापत्र फेला पर्नुले चौधरी अवैध चन्दा असुलीमा पनि संलग्न भएको हुनसक्ने अनुमान प्रहरीको छ ।