मदन भण्डारी सडकले भातीखर्क बस्ती डुबान

२0७८ असार २ बुधबार
मदन भण्डारी सडकले भातीखर्क बस्ती डुबान

गाईघाट, असार २
    
निर्माणाधीन मदन भण्डारी लोकमार्गको गाईघाट–बेलटार खण्डमा नियमानुसार नाला निर्माण नहँदा सदरमुकाम नजिकैको एउटा बस्ती डुबानमा पर्ने खतरा बढेको छ । त्रियुगा नगरपालिका १३ भातीखर्कस्थित बरपिपल चौकसम्म बनेको नाला त्यसभन्दा पूर्वतर्फ नबनाइएकाले निकास जान नपाउँदा पुरै बस्ती डुबानको खतरामा पुगेको स्थानीयको गुनासो छ ।    


बरपिपल चोकस्थित झण्डै १ सयमिटर पूर्वतर्फ सडकको उत्तरपटि नाला बनाइएको छैन । नाला नबनेकाले वर्षायाममा पानी जमेर पश्चिमपटिको बस्ती डुबानमा पर्न थालेको स्थानीय भोला भट्राईले बताए । भट्राईका अनुसार बुधबार १ डेढघण्टा लामो वर्षामै पश्चिमर्फको नालामा पानी भरिएपछि बस्ती डुबान सुरु भएको छ । 


पूर्वतर्फ निकास जाने नाला नबनाएकाले पानी जमेर बस्तीमा पसेको उनले बताए । छोटो वर्षाले नै नाला भरिएर पानी जम्दै बस्ती छिरेपछि डुबानको खतरा बढेको भट्टराईले बताए । सडकको उत्तर (भित्ता)पटि चोकसम्म नाला निर्माण गरिएको छ तर, चोकदेखि पूर्व भातीखर्क खोलामा निर्मित पक्की पुलसम्म झण्डै १ सय मिटर खण्डमा नाला नबनाइएकाले यस्तो समस्या आएको हो । 


लोकमार्ग निर्माण र कालोपत्रे गर्ने क्रममा लोकमार्गका प्राविधिक र ठेकेदार कम्पनी प्रतिनिधिसँग पुलसम्मै नाला बनाउन आग्रह गरे पनि आनाकानी गरेकाले यस्तो समस्या आएको भट्टराईको गुनासो छ । ठेकेदारले बेवास्ता गरेपछि संभावित खतरातर्फ सचेत हुँदै त्रियुगा नगरपालिकालाई पनि नाला निर्माण गर्न आग्रह गरेको तर, बजेट अभाव छ भन्दै चासो नदिएको गाउँलेको भनाई छ । 


‘हामीले कतिपटक ठेकदारलाई भन्यौं, मेयरलाई पनि गुनासो सुनाउँदै नाला बनाउन आग्रह ग¥यौं’ भट्टराईले भने ‘अहिले हेर्दाहेर्दै बर्खा सुरु भयो, चोकसम्मको नाला भरिएर बस्ती नै डुबानमा पार्ने समस्या पैदा भएरै छाड्यो ।’ डुबानले घर गोठलाई त असर गरेकै छ, खेतबारीमा लगाएको अन्नबाली र तुलफुल पनि विनाश गर्ने भएकाले स्थानीय किसानलाई दोहोरो घाटा हुन पुगेको उनले बताए । 

 

मदन भण्डारी लोकमार्ग कार्यालय प्रमुख (डिई) बेलबहादुर भुजेलले भने त्यहाँ नाला बनाउन बाँकी नै रहेको बताए । उनले केही समयपछि नै भातीखर्क चोकदेखि पुलसम्म बाँयापटि नाली बनाइने उनको भनाई छ । पुल एप्रोचको भागमा कालोपत्रे गर्न पनि बाँकी रहेकाले त्योसँगै नाली पनि बनाउने प्रतिबद्धता डिई भुजेलले व्यक्त गरेका छन् ।