उदयपुरमा कोविड:  जम्मा संक्रमित १७६८ निको हुने १२८९, मृत्यु ५१ 

२0७८ असार २ बुधबार
उदयपुरमा कोविड:  जम्मा संक्रमित १७६८ निको हुने १२८९, मृत्यु ५१ 

उदयपुर, असार २

उदयपुरका सहर बजारक्षेत्रमा कोविड संक्रमण घट्दै गए पनि गाउँघरमा भने फैलिने गरेको पाइएको छ । सातादिनयता सदरमुकाम गाईघाट, कटारी, बेलटार र रामपुरलगायत बजारक्षेत्रमा कोविड संक्रमित घट्दै गए पनि पहाडी भेग र गाउँघरतिर भने संक्रमित भेटिने क्रम अझै रोकिएको छैन ।  


पछिल्लो २४ घण्टामा थपिएका ९८ नयाँ संक्रमितमध्ये ताप्ली गाउँपालिकाका मात्र ५३ छन् । जिल्लाको दुर्गम र बिकट पहाडी गाउँपालिका ताप्ली सुरुको झण्डै १ महिनासम्म संक्रमित शून्य अवस्थामा थियो । ३ साताअघिसम्म ११ जना मात्र संक्रमित रहेको ताप्लीमा पछिल्लो ३ दिनमा ३० महिलासहित ५३ जना थपिएका हुन् । 


यो सँगै ताप्लीमा संक्रमितको संख्या ५६ पुगेको छ जसमा महिला संक्रमित २५ छन् । गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाका अनुसार ताप्लीमा हालसम्म एन्टीजेन विधिबाट ३ सय ४६ को स्वाव परीक्षण गर्दा नयाँ संक्रमितहरु ह्वात्तै बढेका हुन् । हालसम्म ताप्लीका २१ महिलासहित ३१ जना संक्रमित निको भईसकेको पनि थापाले बताएका छन् । 


त्यस्तै नगरपालिका भए पनि बेलका ६ (साविक बबला गाविस)को लामीडाँडामा मंगलबार एकैदिन २७ संक्रमित देखिएका छन् । वडाध्यक्ष बसन्त मगरका अनुसार त्यहाँ ३२ जनाको एन्टीजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो । यो सहित ६ नं.वडामा ३६ जनामा संक्रमण पुष्टि भएको वडाध्यक्ष मगरले बताए । यसअघि यत्ति धेरै संक्रमित सो वडामा कहिल्यै देखिएका थिएनन् । 

 

६ नं. वडासँग जोडिएका रामपुर, लालबजार र बुद्धचोकमा भने यसअघि नै संक्रमितहरु बाक्लो रुपमा फेला परेका थिए । बजारक्षेत्रमा घर र व्यापार व्यवसाय गर्ने तथा जागीर खानेहरु पहाडको पुख्र्यौली घर फर्कदा संक्रमण बढेको अनुमान स्थानीयले गरेका छन् । गाउँमा ज्वरो, रुघाखोकीजस्ता कोविड लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमित पाइएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


उता अर्को दुर्गम र बिकट गाउँपालिका लिमचुङबुङमा यसअघि नै १ सय बढीमा संक्रमण पुष्टि भईसकेको छ । जसमध्ये ३८ महिलासहित ७४ जना निको पनि भईसकेका छन् । हाल १३ महिलासहित ३४ जना गाउँ अस्पताल र होमआईसोलेसन सेन्टरमा उपचाररत रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए । उनका अनुसार त्योभन्दा बढी संख्यामा कोविडसँग मिल्दोजुल्दो लक्षण देखिए पनि स्वास्थ्य परीक्षण गर्न नमानेकाले संक्रमण भए नभएको प्रष्ट छैन । तर, सबैजसो निको भईरहेको उनले बताए । 


कोविडसँग मिल्दोजुल्दो रुघाखोकीको लक्षण देखिए पनि जँचाउनेतर्फ बेवास्ता गर्ने गरेको अस्पताल आईसोलेसनका फोकल पर्सन कर्णशेर राई बताउँछन् । उनका अनुसार लक्षण देखिएको खवर पाएपछि स्वास्थ्यकर्मी टोली खटाउँदा पनि परीक्षण गर्नै नआउने गरेको तर, केहीदिनपछि निको हुने गरेको पाइएको छ । लिमचुङुङमा संक्रमितमध्ये वडा नं. २ ताम्लीछाका एक ५६ वर्षीय पुरुषको भने उपचारकै क्रममा दुईसाताअघि दुःखद मृत्यु भएको थियो । 


उदयपुरमा पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २८ महिलासहित ३६ पुगेको छ । यो सँगै जिल्लामा कोविडबाट मुक्ति पाउनेको संख्या ५ सय ७७ महिलासहित १ हजार २ सय ८९ पुगेको छ । अघिल्लो दिन २५ महिलासहित ५८ निको भएका थिए भने आईतबार ३८ महिलासहित ८३ जनाले कोविड जितेको अभिलेख स्वास्थ्य कार्यालयले दिएको छ । 


हाल त्रियुगाका १ सय ९७, बेलकाका १ सय १८, चौदण्डीगढीका ८५ र कटारीका ३३ जना संक्रमित उपचाररत छन् । त्यस्तै ताप्लीका ५५, लिमचुङबुङका ३४, उदयपुरगढीका १३ र रौतामाईका ४ जनाको उपचार भईरहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन् । उदयपुरमा कोविडका कारण हालसम्म ५१ जनाको मृत्यु भईसकेको छ । जसमा महिला १७ र बाँकी पुरुष रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको अभिलेखमा उल्लेख छ ।