उदयपुरमा कोविडः सोमबार ५८ जना निको हुँदा ३० संक्रमित थपिए

२0७८ जेष्ठ ३१ सोमबार
उदयपुरमा कोविडः सोमबार ५८ जना निको हुँदा ३० संक्रमित थपिए

उदयपुर, जेठ ३०

कोविड प्रभाव घट्दै जाने क्रममा उदयपुरमा पछिल्लो २४ घण्टामा ३० जनामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय उदयपुरले दिएको जानकारी अनुसार २४ घण्टाभित्र त्रियुगामा ५ महिलासहित १३, चौदण्डीगढीमा ८ महिलासहित १६ र बेलकामा २ महिला गरी १५ महिलासहित ३० जना संक्रमित देखिएका छन् । 


अघिल्लो दिन झैं सोमबार पनि निको हुनेको संख्या संक्रमितभन्दा झण्डै दोब्बर बढी छ । २४ घण्टाभित्र २५ महिलासहित ५८ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या जिल्लामा ५ सय ५९ महिलासहित १ हजार २ सय ५३ पुगेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । उनका अनुसार पछिल्लो सातादेखि संक्रमित क्रमशः घट्दै गएको छ भने निको हुनेहरु क्रमशः बढ्दै गएका छन् ।     


निको हुनेमा त्रियुगाका ५ सय ८३, कटारीका १ सय २८, बेलकाका १ सय ४४, चौदण्डीगढीका २ सय १ जना छन् । त्यस्तै रौतामाईका ८४, उदयपरगढीका ३५, ताप्लीका १० र लिमचुङबुङका ६८ जना निको भएका छन् । हालसम्म उदयपुरका १ हजार ७ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको उदयपुर कोविड अस्पताल बेलटार, आँखा अस्पताल गाईघाट र अन्य बिभिन्न अस्पताल तथा आईसोलेसन सेन्टरमा उपचार भईरहेको छ । 


संक्रमितहरु त्रियुगाका २ सय ८ जना छन् भने कटारीका ३३ जना रहेका छन् । त्यस्तै, बेलकाका ९२, चौदण्डीगढीका ८५ जनाको उपचार भईरहेको छ । लिमचुङबुङ गाउँपालिकाका ३७, उदयपुरगढीका १८, रौतामाईका ८ र ताप्लीका २ जनाको पनि बिभिन्न आईसोलेसन सेन्टरमा उपचार भईरहको स्वास्थ्य कार्यालयको अभिलेखमा उल्लेख छ । 


जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार जिल्लाभित्र र बाहिर बसोबास गर्ने उदयपुरबासी ५० जनाको हालसम्म कोविडले ज्यान लिएको छ । प्रहरीले कोविड नियन्त्रणका लागि जिल्ला प्रशासनले लागू गरेको निशेधाज्ञालाई कार्यान्वयन गर्ने क्रममा नियमित अनुगमन गरिरहेको छ । 


प्रहरी प्रमुख एसपी भीम दाहालका अनुसार हरेक दिन विना काम बजार निस्कने सवारी साधनलाई होल्ड गरेर साँझ ६ बजे छाड्ने गरिएको छ । जस अुनसार आईतबार पनि ४२ वटा सवारी साधन कारबाहीमा परेका छन् । अनावश्यक हिडडुल गर्ने १ सय ९१ जनालाई सम्झाई बुझाई घर फर्काएको छ भने ९८ ठाउँमा कोविडविरुद्ध जनचेतनामूलक प्रचार प्रसार कार्यक्रम गरिएको छ ।