उदयपुरमा कोविडः २२ संक्रमित, ८३ निको

२0७८ जेष्ठ ३१ सोमबार
उदयपुरमा कोविडः २२ संक्रमित, ८३ निको

गाईघाट, जेठ ३१

आईतबार २४ घण्टामा कोविड संक्रमणबाट उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार गत २३ गतेदेखि उपचाररत रहेका त्रियुगा नगरपालिका १० का ७४ वर्षीय बृद्धको आँखा अस्पताल गाईघाटको आईसोलेसन सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । 


स्वास्थ्यका अनुसार पछिल्लो २४ घण्टामा ८ महिलासहित २२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु त्रियुगाका १३ र कटारीका ९ जना छन् । यो सँगै जिल्लामा सक्रीय संक्रमितको संख्या ५ सय ११ मा झरेको छ । जसमा महिला २ सय ३५ छन् । अघिल्लो दिन ४५ नयाँ संक्रमित थपिदा सक्रीय संक्रमित २ सय ६६ महिलासहित ५ सय ७४ थिए । 


गएको २४ घण्टाभित्र निको हुनेको संख्या १ हजार १ सय ९५ पुगेको छ । जसमा महिला ५ सय ३४ र बाँकी पुरुष छन् । अघिल्लो दिन निको हुनेको संख्या ४ सय ९६ महिलासहित १ हजार १ सय १२ थियो । हालसम्म जिल्लामा निको हुनेको संख्या ८३ पुगेको छ । जसमध्ये ३८ जना महिला छन् । अघिल्लो दिन १ सय ३७ जना संक्रमित निको भएका थिए ।


हाल त्रियुगाका २ सय ४१ महिलासहति ५ सय ४८ जना निको भएका छन् भने १ सय महिलासहित २ सय ३० जना उपचारमा छन् । कटारीका ५७ महिलासहित १ सय २८ निको हुँदा १० महिलासहित ३३ उपचारमा छन् । बेलका नगरपालिकाका ७० महिलासहित १ सय ३९ जना निको भईसकेका छन् भने उपचारमा ४९ महिलासहित ९५ जना छन् । त्यस्तै चौदाण्डीगढी नगरपालिकाका ८७ महिलासहित १ सय ८४ जना निको हुँदा ४६ महिलासहित ८७ जना उपचारमा रहेको स्वास्थ्यले जनाएको छ । 


गाउँपालिकातर्फ २८ महिलासहित ८६ जना रौतामाईका संक्रमित निको भईसकेका छन् भने ६ महिलासहित ९ जना उपचारको क्रममा छन् । लिमचुङबुङका ३५ महिलासहित ६८ जना निको भईसक्दा १५ महिलासहित ३७ जनाको उपचार भईरहेको छ भने उदयपुरगढीका १३ महिलासहित ३५ जना निको हुँदा ७ महिलासहित १८ को उपचार भईरहेको छ । सबभन्दा कम ताप्ली गाउँपालिकामा ३ महिलासहित १० जना निको हुँदा १४ जना संक्रमित रहेका छन् । 


स्वास्थ्य कार्यालयमा भने मृतकको संख्या १५ महिलासहित ४७ जना पुगेको जनाए पनि जिल्ला प्रहरी कार्यालय उदयपुरको अभिलेखमा भने मृतक संख्या ५० रहेको छ । उदयपुर घर भई अन्य जिल्लामा संक्रमित भई मृत्यु हुनेहरुसमेत गरी यो संख्या यकिन गरिएको प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन् ।