उदयपुरमा कोविडः ४५ नयाँ संक्रमित, १३७ निको

२0७८ जेष्ठ २९ शनिबार
उदयपुरमा कोविडः ४५ नयाँ संक्रमित, १३७ निको

उदयपुर, जेठ २९

पछिल्लो समय उदयपुरमा कोविड संक्रमित घट्दै गएका छन् भने निको हुने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २४ महिलासहित ४५ जना संक्रमित थपिदा निको हुनेको संख्या १ सय ३७ पुगेको छ । 

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार नयाँ थपिएका संक्रमितहरुमा चौदण्डीगढी नगरपालिकाका ६ महिलासहित १७, त्रियुगा नगरका ५ महिलासहित ११, बेलका नगरका २ महिलासहित १० र लिमचुङबुङ गाउँपालिकाका १ महिलासहित ५ जना रहेका छन् । उनीहरु अघिल्लो दिन परीक्षण गर्दा संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । सुबेदीका अनुसार पछिल्लो ३ दिनयता संक्रमतिभन्दा निको हुनेको संख्या बढ्दै गएको हो । 

अघिल्लो दिन अहिलेसम्मकै सबभन्दा बढी ४ सय ७९ जना निको भएका थिए । शनिबार निको हुने १ सय ३७ संख्या त्यसपछिको दोस्रो ठूलो हो भने बिहीबार ९१ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्ला निको हुनेसहित जिल्लामा हालसम्म ४ सय ९६ महिलासहित १ हजार १ सय १२ जनाले कोविडलाई पराजित गरेर घर फर्केका छन् । 

शनिबार थपिएका ४५ सहित सक्रीय संक्रमतिहरुको उदयपुर कोविड अस्पताल बेलटार, सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसन र धरान तथा बिराटनगरमा उपचार भईरहेको छ । अस्पतालमा भन्दा दोब्बर बढी संक्रमितहरु होमआईसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

हाल त्रियुगा नगरपालिकाका १ सय १ महिलासहित २ सय ३९ को उपचार भईरहेको छ भने २ सय ९४ महिलासहित ५ सय २८ निको भईसकेका छन् । बेलकाका ६० महिलासहित १ सय २२ उपचारमा छन् भने ६० महिलासहित १ सय १२ जना निको भएका छन् । त्यस्तै चौदण्डीगढीका ४९ महिलासहित ९३ जनाको उपचार भईरहेको छ भने ८४ महिलासहित १ सय ७८ जना निको भईसकेका छन् । कटारीका २० महिलासहित ४५ उपचारमा रहँदा ४५ महिलासहित १ सय ७ निको भएका छन् । 

स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलका अनुसार गाउँपालिकातर्फ लिमचुङबुङका १८ महिलासहित ४१ जना उपचारमा रहँदा ३२ महिलासहित ६४ जना निको भएका छन् । रौतामाईका ९ महिलासहित १४ उपचारमा छन् भने २५ महिलासहित ७८ जना निको भईसकेका छन् ।  त्यसैगरी ताप्ली गाउँपालिकाकाका २ महिलाको उपचार भईरहेको छ भने ३ महिलासहित १० जनाले कोविडलाई परास्त गरिसकेको लुईटेलले बताएका छन् । 

स्वास्थ्यले जिल्लामा पछिल्लो ३ दिनयता कोविडबाट कसैको मृत्यु नभएको जनाएको छ । यसअघि मृत्यु हुनेको संख्या ४८ छ । त्रियुगाका ७ महिलासहित २४, चौदण्डीगढीका ४ महिलासहित ९, कटारीका २ महिलासहित ४, बेलकाका ४ पुरुष, उदयपुरगढीका १ महिलासहित ३, रौतामाईका १ महिलासहित ३ र लिमचुङबुङका १ पुरुषको ज्यान गएको लुईटेलले बताएका छन् । 

उदयपुरमा वैशाख सुरुदेखि कोविड फैलिन थालेपछि २५ गतेदेखि सुरु भएको निशेधाज्ञा आउँदो असार ७ गते लागू गर्ने निर्णय भएको छ । पछिल्लो पटक शुक्रबार रातिदेखि थपिएको सातादिनको निशेधाज्ञा केही खुकुलो पार्दै विहान ७ देखि १२ बजेसम्म खाद्यान्न, दुधजन्य, पेट्रोलियम पदार्थ, फलफुल र तरकारीलगायत अत्यावश्यक सामग्री बेच्न खुल्ला गरिएको छ ।