सुकुम्बासीका घरमा डोजर प्रकरणः ५ दलको सिडिओलाई ज्ञापनपत्र

२0७८ जेष्ठ २९ शनिबार
सुकुम्बासीका घरमा डोजर प्रकरणः ५ दलको सिडिओलाई ज्ञापनपत्र

कटारी, जेठ २९

उदयपुरको कटारी नगरपालिका ४ जहडीस्थित सुकुम्बासी बस्तीमा नगरपालिकाले डोजर लगाएर घर भत्काएको घटनाप्रति जिल्लाका बिभिन्न राजनीतिक दलहरुले पुनः सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), नेकपा (एमाले) नेपाल खनाल समूह, जनता समाजबादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै घट्नाको निश्पक्ष र सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । 


दलीय प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ तुलसीराम सेडाइँलाई बुझाएको ज्ञापनपत्रमा नगरपालिकाले निशेधाज्ञाको अवधिमा घरबाहिर निस्न नहुने नियम तोडेर किरीया बसेको घरमासमेत डोजरले सुकुम्बासीको घर भत्काउने घट्ना अमानवीय र निन्दनीय भएको भन्दै भत्र्सना गरिएको छ । नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षजस्तो जिम्मेबार जनप्रतिनिधिले नै जनतामाथि गरेको यस्तो हर्कत अन्यायको पराकाष्टा भएको उनीहरुको बुझाई छ ।


ज्ञापनपत्र बुझाउन नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिदुर बस्नेत, क्षेत्रीय सभापति रामकुमार खत्री, कटारी नगर सभापति गोपी पराजुली, जिल्ला सदस्य कृष्ण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का प्रदेश १ सदस्य केपी बराल, कटारी नगर अध्यक्ष मणिराज दाहाल र सदस्य ईश्वर पोखरेल प्रशासन पुगेका थिए । त्यस्तै, नेकपा (एमाले) उदयपुरका अध्यक्ष ईश्वरमणि राउत, जसपा जिल्ला अध्यक्ष केशवबहादुर मगर, क्षेत्रीय अध्यक्ष विष्णुबहादुर राई दनुवार र राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष बुद्धिमान तामाङ, नरेन्द्र कार्की र राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय महासचिव बलबहादुर तामाङ तथा आदिवासी जनजाति महासंघ कटारीका सचिव पदमकुमार राई टोलीमा सहभागी थिए । 


ज्ञापनपत्रमा काङ्ग्रेस नगर सभापति गोपीप्रसाद पराजुली, माओवादी केन्द्र नगर अध्यक्ष मणिराज दाहाल, एमाले नगर अध्यक्ष कृष्ण खड्का, जसपा नगर अध्यक्ष बुद्धिमान तामाङ र राप्रपा नगर अध्यक्ष नरेन्द्र कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा स्थानीय सरकारले गरेको ज्यादतीपछि प्रहरी प्रशासनले धरपकड गरेर सुकुम्बासीलाई थप पीडा दिएको उल्लेख छ । घट्नामा संलग्न भएको आरोपमा ४ जना स्थानीयलाई पक्राउ गरी झुट्टा मुद्दा लगाएर दुःख दिएको भन्दै त्यस्तो झुट्टा मुद्धा तत्काल फिर्ता लिन र पक्राउ व्यक्तिहरूलाई विना शर्त रिहा गर्न पनि विज्ञप्तीमा माग गरिएको छ । 


निशेधाज्ञाका बेला जेठ ५ गते जहडीस्थित सुकुम्बासी बस्तीमा नगरपालिकाले सुकुम्बासीको घर भत्काएको घटनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । ज्ञापनपत्रमा सर्वपक्षीय÷सर्वदलीय सार्वजनिक जग्गा संरक्षण समिति बनाएर नगरक्षेत्रभित्रका सबैखाले सार्वजनिक जग्गाको एउटै मापदण्ड बनाई समस्या समाधान गर्नु माग गरिएको छ । 


ज्ञापनपत्र बुझ्दै सिडिओ सेंढाईले आफूलाई घटनाबारे धेरै जानकारी नभएकाले सरोकारवाला सबैपक्षसँग छलफल गरेर समाधानको पहल गर्ने बताएको दलका प्रतिनिधिहरुले बताएका छन् । गत  १६ गते पनि दलका नगरस्तरीय प्रतिनिधिहरूले कटारीस्थित इलाका प्रशासन कार्यालयमा सोही वेहोराको ज्ञापनपत्र बुझाएका थिए । माओवादी नेता केपी बरालले नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष समस्या समाधान गर्नुको साटो थप बल्झाउनेतर्फ उद्यत रहेकाले पीडित जनतालाई न्याय दिलाउन इलाका प्रशासन हुँदै जिल्ला प्रशासनसम्म आएको बताए । 


नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत र ४ नं. वडाध्यक्ष कृष्ण दनुवारसहितको टोलीले जेठ ५ गते निशेधाज्ञाकै समयमा जहडीका सन्तबहादुर सुनुवार र दिनेश दनुवारको घर, टहरा डोजर लगाएर भत्काएको थियो । त्यसअघि जेठ ३ गते नगरले बोलाएको सर्वदलीय बैठकमा कोविड संक्रमण बढ्न नदिन ७ गतेसम्म वडालाई ‘सिल’ गर्ने निर्णय गरेको तर, घर, टहरा भत्काउनेबारे कुनै छलफल नभएको बैठकमा सहभागी माओवादी नगर अध्यक्ष दाहालले बताए । 


सर्वदलीय बैठक बसेको २ दिनपछि अर्थात बजार सिल गरेको भोलिपल्टै सुकुम्बासी बस्तीमा डोजर चलाएर घर भत्काइएपछि आक्रोशित स्थानीयको भीडले मेयर, उपमेयर र ४ नं. वडाध्यक्षको घर र गाडीमा ढुंगा प्रहार गरेको थियो । घटनामा संलग्न भएको आरोपमा स्थानीय आधादर्जन युवालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ । जनप्रतिनिधि र प्रहरी प्रशासनको ज्यादतिपछि झण्डै ३ दर्जन घर परिवार बिस्थापित भएको स्थानीयले बताएका छन् । 


कोरोना महामारीका बेला घरभित्रै बस्न आदेश दिदै बजार सिल गरेको स्थानीय जनप्रतिनिधिहरु आफै खटेर घर भत्काउने कार्यको त्यतिबेलै राजनीतिक दल, नागरिक अगुवाहरुले सर्वत्र बिरोध, निन्दा र भत्र्सना गरेका थिए ।