उदयपुरमा निशेधाज्ञा खुकुलो, १२ बजेसम्म पसल खुल्ला

२0७८ जेष्ठ २८ शुक्रबार
उदयपुरमा निशेधाज्ञा खुकुलो, १२ बजेसम्म पसल खुल्ला

उदयपुर, जेठ २८

कोविड संक्रमण घट्दै निको हुने क्रम बढ्न थालेपछि उदयपुरमा भोलिदेखि निशेधाज्ञा केही खुकुलो पारिने भएको छ । गत वैशाख २५ देखि जारी निशेधाज्ञा आजै (शुक्रबार) राति १२ः०० बजेसम्म जारी गरिएको थियो । आज बसेको जिल्ला कोविड व्यवस्थापन समिति (डिसिएमसी) बैठकले आउँदो असार ७ गतेसम्म निशेधाज्ञा जारी राख्ने तर, खुकुलो पार्दै लाने निर्णय गरेको हो । 


विहान ७ः०० देखि ९ः०० बजेसम्म मात्र तरकारी, फलफुल, माछामासु, दुलगायत खाद्यान्न पसल खोल्दै आएकोमा अव सुरक्षा सतर्कता अनिवार्य अपनाएर १२ः०० बजेसम्म खुल्न दिइने छ । त्यसैगरी विकास निर्माणको काम सुचारु गर्न निर्माण सामग्रीका पसलहरु पनि मध्यान्हसम्म खोल्न दिइनेछ । 


अस्पताल, एम्बुलेन्स, बिरामी कुरुवा, मृत्यु संस्कार, खानेपानी, स्वास्थ्य, पेट्रोलियम पदार्थ, दुध, फुलफल, खाद्यान्नको ढुवानीमा रोक लगाइने छैन । बैंक तथा बित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकले तोके अनुसार सञ्चालन हुन दिइने छ । अत्यावश्यक कामबाहेक बजार हिडडुलमा भने कडाई गर्ने कार्य यथावत राख्ने निर्णय भएको सिडिओ तुलसीराम सेँढाईले बताए ।


बैठकले बिना मास्क हिड्नेलाई पटकैपिछ १ सय रुपैंया जरिवाना गर्नसक्ने अधिकार गस्तीमा रहेका सुरक्षाकर्मीलाई दिएका छ । बिनाकाम निस्कने दुईपाङ्ग्रे सवारी साधनलाई पटकैपिछे २ हजार र संस्थाको हकमा पटकैपिछे ५ हजार जरिवाना लिनसक्ने छ । 


‘कोविड १९ शंकट व्यवस्थापन अध्यादेश २०७८’ अनुसार जवरजस्ती गरी निशेधाज्ञा उल्लंघन गर्नेलाई व्यक्ति भए १ लाखसम्म र संस्थाको हकमा ५ लाखसम्म जरिवाना तिराउने प्रावधान लागू गरिनेछ । जिल्लाबाहिरबाट आउने आगन्तकहरुले स्थानीयतहले तोकेको क्वारेन्टीन तथा आईसोलेसन सेन्टरमा अनिवार्य बस्नुपर्नेछ । 


संक्रमितभन्दा निको हुने बढी, शुक्रबार ४ सय ७९ निको 

उदयपुरमा गएको २४ घण्टामा ४ सय ७९ जना संक्रमित निको भएर घर फर्केका छन् ।  निको हुने यो संख्या अहिलेसम्मकै सबभन्दा धेरै हो । अघिल्लो दिन ९१ जना निको भएका थिए । यो सँगै निको हुनेको संख्या उदयपुरमा ९ सय ७५ पगेको छ जसमा ४ सय २६ महिला र बाँकी पुरुष छन् ।


नयाँ संक्रमित २४ घण्टाभित्र ७० नयाँ थपिएका छन् । बेलकामा १० महिलासहित ३६, चौदण्डीगढीका १० महिलासहित २७ र त्रियुगाका ३ महिलासहित ७ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत उमेश लुईटेलले बताएका छन् । 


अव जिल्लामा उपचाररत सक्रीय संक्रमितहरु ३ सय १२ महिलासहित ६ सय ६६ छन । उनीहरु उदयपुर कोविड अस्पताल बेलार, सदरमुकामस्थित आँखा अस्पताल गाईघाट र होमआईसोलेसन तथा केही बिराटनगर र धरानका अस्पतालमा उपचाररत रहेको लुईटेलले बताए । 


हालसम्म उदयपुरमा कोविडका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ जसमा महिला १५ र बाँकी पुरुष रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार निशेधाज्ञा पालना नगर्ने ४१ वटा सवारीसाधनमाथि सोमबार प्रहरीले कारबाही गरेको छ । 


त्यस्तै बिना काम बाहिर निस्केका १ सय ३३ जनालाई सम्झाई बुझाई घर फर्काइएको छ भने १ सय २३ ठाउँमा कोविडविरुद्ध सचेतना प्रचारप्रसार गरिएको छ । शुक्रबारसम्म १ हजार ६ सय ३६ जनाको स्वाव परीक्षण गरिएको प्रहरी अभिलेखमा उल्लेख छ ।