बोलेरो दुर्घटनाका घाईते चालक काठमाडौं रिफर

२0७८ जेष्ठ २५ मंगलवार
बोलेरो दुर्घटनाका घाईते चालक काठमाडौं रिफर

कटारी, जेठ २५

कटारीबाट ताप्लीतर्फ  जाँदै गरेका बेला दुर्घटनामा परेको बोलेरोका चालकलाई उपचारार्थ काठमाडौं रिफर गरिएको छ । अघिल्लो साँझ साढे ७ः०० बजे कुखुराको दाना (चारो) बाकेको बा १३ च ५६४८ नं. को जिप उदयपुरगढी गाउँपालिका ३ को चप्लेटीमा दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका थिए ।


घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा पर्दा सडकदेखि झण्डै ५ सय मिटर तल खसेर कच्याककुचुक भएको बोलेरोका चालक ताप्लीका २३ वर्षीय आकाश राईलाई कटारी अस्पतालमा उपचार हुन नसकेपछि आज मध्यान्ह काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । 


निशेधाज्ञा र कोविडका कारण मानव चहलपहल पातलो भएकाले उद्धार गर्न ढिला हुँदा चालक बेहोस भएका थिए । राति नै उदयपुरगढी प्रहरी चौकीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरी उनलाई कटारी अस्पताल भर्ना गरेको थियो । तर, त्यहाँ उपचार संभव नभएपछि मंगलबार काठमाडौं रिफर गरिएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन् ।