भारतीय युवक बैंकको एटिएम फुटाउँदा फुटाउँदै पक्राउ

२0७८ जेष्ठ २५ मंगलवार
भारतीय युवक बैंकको एटिएम फुटाउँदा फुटाउँदै पक्राउ

उदयपुर, जेठ २५

नेपालीमा एउटा उखान छ ‘कसैलाई केको धन्दा, घर ज्वाईलाई खानकै धन्दा ।’ कोविड कहरले मान्छेहरु घरबाहिर निस्कन नसकेर निस्सासिएको अवस्थामा अपराधीहरु भने खुलेआम आपराधिक घट्नामा संलग्न हुनुले यही उखान चरितार्थ हुन्छ । 


बढ्दो कोविड संक्रमण नियन्त्रण गर्न लगातार १ महिनादेखि प्रशासनले निशेधाज्ञा लागू गरेका बेला गाईघाटजस्तो व्यस्त बजारबीचको एउटा बैंकको एटिएम फुटाउदै गरेका एक भारतीय युवक सोमबार राति पक्राउ परेका हुन् । छिनो, स्क्रु डाईभरसहित उपकरण लिएर नबिल बैंकको एटिएम बुथ फुटाउँदै गर्दा भारत स्थायी घर भई गाईघाटमै बस्दै आउका १८ वर्षीय विभेष शर्मा पक्राउ परेका हुन् ।


बिभेष त्रियुगा नगरपालिका ११ गाईघाट हिमाली टोलस्थित व्यस्त सडकछेउमा रहेको बैंकको एटिएम सोमबार राति ११ः४५ बजेफोर्दै गर्दा भारतको मधुवनी जिल्ला, लौकाहा ग्रामपञ्चायत स्थायी घर भई त्रियुगा नगरपालिका ३ बस्दै आएका बालकृष्ण शर्माका छोरा  हुन् । 


उनलाई रातिको ड्यटी गस्तीमा खटेको प्रहरी टोलीले मध्येरातिको समयमा चोरी गर्दै गरेको अवस्थामा भेटेर रंगेहात पक्राउ गरेको प्रहरी प्रमुख एसपी भीम दाहालले बताए । शर्मालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको एसपी दाहालले बताएका छन् ।