लिमचुङबुङलाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री 

२0७८ जेष्ठ २४ सोमबार
लिमचुङबुङलाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री 

उदयपुर, जेठ २४

रोजगारी तथा पेशा व्यवसायको सिलसिलामा देशविदेशमा रहेका युवाहरुको समूहबाट लिमचुङबुङ गाउँपालिकालाई कोविडविरुद्धको स्वास्थ्य सामग्री प्राप्त भएको छ । पछिल्लो समय फैलिएको कोविड भेरिएन्टको संक्रमण बढ्दो अवस्थामा युवा समूहले स्वास्थ्य सामग्री खरिद गरेर  गाउँपालिकालाई हस्तान्तरण गरेको हो । 


अभियानका संयोजक लिमचुङबुङ १ बाँसबोटेका सामाजिक अगुवा देवराज राई नेतृत्वको टोली आईतबार गाउँपालिका पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर २ थान, सेनिटाईजर १ सय २० थान, मास्क ७ हजार ७ सय ५० थान र शक्तिबद्र्धक खाजा हर्लिक १४ किलो उपलब्ध गराएको संयोजक राईले बताए । 


टोलीले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नौलशेर राई, अस्पतालका आईसोलेसन प्रमुख कर्णशेर राई, वडाध्यक्षलगायत जनप्रतिनिधिलाई हस्तान्तरण गरेको अर्का सामाजिक अगुवा तथा टोली सदस्य राजकुमार राईले बताए । राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सुरक्षा मापदण्ड र दुरी कायम गरी बितरण गरिएका सामग्री गाउँपालिकाका ५ वटै वडालाई बितरण गरिएको छ । 


युवा टोलीले उपलब्ध गराएको सामग्री झण्डै ५ लाख मूल्य बराबरको रहेको छ । ती सामग्री काठमाडौं तथा बिभिन्न देशमा कार्यरत युवाहरुले आफ्नो गाँस काटेर दिएको स्वेच्छिक चन्दा रकमले खरिद गरिएको हो । सहयोग गर्नेमा एसके राई, (शंकर राई), मलेसियाका कैलाश राई, प्रबिण राई, राजकुमार भुजेल, थिरन राई र अनिल राई, साउदी अरवबाट बिजय राई र बयान राई, दुबईबाट नीमा कोयु राई, अमेरिकाबाट शम्भु राई र दोशन राई, दक्षिण कोरियाबाट कविल राई, सञ्जिब बुढाथोकी र अशल किराँती रहेका छन् । 


कोविडले गाउँपालिकाबासीलाई संक्रमण गर्दे लानुका साथै एकजनाको दुखद मृत्यु भईसकेको अवस्थामा सबे मिलेर सहयोग जुटाउदै स्वास्थ्य सामग्री उपलब्ध गराइएको अभियन्ताहरुको भनाई छ ।


प्राप्त सामग्री अक्सिजन कन्सन्ट्रेटर लिमचुङबुङ अस्पतालको आईसोलेसनका विरामीको उपचारमा प्रयोग गरिनेछ भने बाँकी सामग्री वडावडा बितरण गरिनेछ । ७ हजार ७ सय ५० थान मास्कमध्ये ५ वटा वडालाई १–१ हजार थान र बाँकी २ हजार ७ सय ५० थान गाउँ स्वास्थ्य शाखालाई छुट्याइएको छ । त्यस्तै १ सय २० थान सेनिटाईजरमध्ये १ नंं वडालाई २० वटा र अन्य वडालाई १० –१० थान दिइएको अर्का सामाजिक अगुवा टोली सदस्य चुडामणि राईले बताए । 


राईका अनुसार यो अभियान टोलीले यसअघि पनि गाउँपालिकालाई एन्टीजेन किट र पिपिई सेट सहयोग गरेको थियो । गाउँमा कोविड संक्रमण देखिनासाथ संक्रमण नियन्त्रण र त्यसबाट बँचाउने उदेश्यले बिभिन्न देशमा रहेका युवाहरुसँग सहकार्य गर्दै कोविड परीक्षण गर्ने एन्टीजेन किट १ सय थान र २० थान पिपिई सेट सहयोग गरेको गाउँ आईसोलेसन प्रमुख कर्णशेर राईले बताए । 


संयोजक राईका अनुसार लिमचुङबुङमा हालसम्म १ सय जना संक्रमित भईसकेको छन् भने वडा नं. २ का १ पुरुषको ज्यान गईसकेको छ । हालसम्म १५ महिलासहित ३० जना निको भईसकेका छन् भने २४ महिलासहति ६८ जनाको उपचार भईरहेको छ । १० शैयाको आईसोलेसन सेन्टरमा ५ थान अक्सिजन सिलिण्डरसहितको व्यवस्था छ । थोरै शैया भएकाले जटिलखालका बिरामीलाई भर्ना गरेर उपचार गराउने गरेको र सामान्यलाई होमआईसोलेसन र सदरमुकामलगायत बिभिन्न अस्पताल रिफर गर्ने गरिएको प्रमुख राईले बताए ।