समुद्रपारीका नेपालीबाट कोविड संक्रमितलाई राहत

२0७८ जेष्ठ २१ शुक्रबार
समुद्रपारीका नेपालीबाट कोविड संक्रमितलाई राहत

उदयपुर, जेठ २१

कोविड महामारीको चपेटामा परेका प्रदेशबासी संक्रमितलाई ‘अन्तराष्ट्रिय नेपाली समाज (इन्स)’ले पोषिलो खानेकुरासहितको राहत बितरण गर्न थालेको छ । महामारीको संक्रमणमा परेर उपचाररत बिरामीको आत्मबल बढाउन तथा रोगप्रतिरोधात्मक क्षमता बृद्धि गर्न इन्सले राहत बितरण गरेको हो । 


इन्स् वैदेशिक रोजगारीको क्रममा समुद्रपारका बिभिन्न देशमा कार्यरत नेपालीहरुको साहित्यिक संस्था हो । महामारीको बेला सहयोग गर्ने उदेश्यले देशभर राहत वितरण गर्ने योजना अनुसार इन्सले १ नम्बर प्रदेश अन्तर्गत उदयपुरको कर्णाली मानिएको लिमचुङबुङ गाउँपालिकालाई सुरुमा राहत दिएको छ । 


जस अनुसार शुक्रबार इन्सका केन्द्रीय उपाध्यक्ष झलक बुढाथोकीको संयोजकत्वमा गठित ‘राहत संकलन तथा बितरण संयोजन समिति’ले गाउँपालिकालाई राहत हस्तान्तरण गरेको छ । सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडामा आयोजित एक कार्यक्रममा उपाध्यक्ष बुढाथोकी र लिम्चुङबुङ–काठमाडौ समन्वय समाजका संयोजक तबिन्द्र राईले गाउँपालिकाका प्रेस सल्लाहकार दिनेश राईलाई हस्तान्तरण गरे । 


बाराहस्थित आईसोलेसन र होमआईसोलेसनमा उपचाररत संक्रमितलाई बितरण गर्ने गरी १५ बोरा गुणस्तरीय चामल, १० क्रेट अण्डा, १ बोरा चना, १ बोरा मटर, १ बोरा मुगी दाल र फलफुलतर्फ १ कार्टुन स्याउ, १ कार्टुन अनार र पिपिई सेट हस्तान्तरण गरिएको उपाध्यक्ष बुढाथोकीले बताए । 


प्रेस सल्लाहकार राईले सामग्री ग्रहण गर्दै महामारीको शंकटमा आफ्नो गाँस काटेर सहयोग गरेकोमा प्रशंसा गर्दै इन्स र त्यसका पदाधिकारीलाई धन्यबाद दिए । संस्थाले दिएको पौष्टिक आहारजन्य सामग्री यथासिघ्र गाउँपालिका पठाएर संक्रमितलाई बितरण गर्ने सल्लाहकार राईले प्रतिबद्धता जनाएका थिए । 


इन्सका महासचिव अर्जुन श्रीले जन्मभूमिमा व्याप्त महामारीका बेला थोरै भए पनि सहयोग गर्ने उदेश्यले राहत बितरण गर्ने योजना ल्याइएको बताए । प्रवासमा रहेका नेपाली युवाहरुले कोविड संक्रमित बिरामीको उद्धारमा सक्दो सहयोग गर्ने उदेश्यले गाँस कटाएर संकलन गरी राहत सामग्री उपलब्ध गराएको उनले बताए । 


संस्थाका अर्का केन्द्रीय उपाध्यक्ष ईश्वर राईले नेपालमा व्याप्त महामारीबाट बँचाउन थोरै भए पनि सहयोग गर्न पाएकोमा खुसी लागेको बताउँदै राहत बितरण कार्यक्रम प्रदेशका सबै जिल्लामा गरिने, बताए । उनले समाजकी महिला उपाध्यक्ष नजवुल खान र राष्ट्रिय समिति सदस्यद्वय रुपा राई र पारु विकको पहलमा राहतका लागि थप इच्छुकसँग सहयोग संकलन गर्न थालिएको जानकारी दिए । 


राहत संयोजन समितिले केन्द्रबाट आएको रकम अपुग हुने भएपछि अरुसँग पनि सहयोग लिन थालिएको जनाएको छ । जस अनुसार स्वयं उपाध्यक्ष बुढाथोकीले ५ हजार, अमेरिकामा कार्यरत उदयपुरकै माथबरसिंह राउतले ५ हजार, केन्द्रीय सदस्य दुर्गा राईले ५ हजार दिने भएका छन् । 


त्यस्तै, लिमचुङबुङ ५ जाँतेका सन्देश बुढाथोकीले ३ हजार ५ सय र राष्ट्रिय समिति सदस्य रुपा राईले ३ हजार सहयोग दिने प्रतिबद्धता जनाएको उपाध्यक्ष बुढाथोकीले बताए ।