निशेधाज्ञा उदयपुरमा जेठ २८ सम्म, बैंकहरु आंशिक खुल्ने 

२0७८ जेष्ठ २१ शुक्रबार
निशेधाज्ञा उदयपुरमा जेठ २८ सम्म, बैंकहरु आंशिक खुल्ने 

उदयपुर, जेठ २१


उदयपुरमा तेस्रो पटक निशाधाज्ञा बढाउँदै आउँदो २८ गतेसम्म लम्ब्याइएको छ । जिल्लामा संक्रमित दर मृत्यु हुने क्रम नरोकिएपछि जिल्ला कोविड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) उदयपुरले थप एकसातालाई निशेधाज्ञा थप्ने निर्णय गरेको हो । 


सुरुमा वैशाख २५ गतेदेखि ३१ सम्म लागू गरिएको निशेधाज्ञा बढाइएको यो चौथो पटक हो । लगातार निशेधाज्ञा लागू भए पनि संक्रमण र मृत्यु हुने क्रम नरोकिएपछि चौथो सातासम्म बढाइएको डिसिसिएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी  तुलसीराम सेंढाईले बताए । 


निशेधाज्ञा थपिए पनि बैंक तथा बित्तीय संस्थाहरु पनि आंशिक रुपमा खुल्ने भएका छन् । संक्रमण बढाउने माध्याम मानव चलखेल अत्याधिक भएको पाइएपछि पछिल्लो १५ दिनयता बैंकहरु पूर्णरुपमा बन्द गरिएका छन् । बिहीबारको डिसिसिएमसी बैठकले बैंक तथा बित्तीय संस्थाहरु आईतबार, मंगलबार र बिहीबार गरी सातामा ३ दिन आंशिक समय खोल्ने निर्णय गरेको हो । 


मानव चलखेल बढेकै कारण संक्रमण तिब्रगतिमा फैलिएको निश्कर्ष निकाल्दै डिसिसिएमसीले जेठ ७ गतेदेखि बैंकहरु बन्द गरेको थियो । बैंकहरु लगातार २ सातासम्म बन्द गर्नाले दैनन्दिन जनजीवनमा असर परेपछि आंशिक खोल्ने निर्ण भएको सिडिओ सेंढाईले बताए। 


बिहीबारसम्म उदयपुरमा  ४ सय ८० महिलासहित १ हजार ६४ सक्रिय संक्रमित रहेका छन् । निको हुनेको संख्या १ सय ११ महिलासहित २ सय ६३ छ । कोविडका कारण शुक्रबार विहान चौदण्डीगढी नगरपालिका ६ का ४७ वर्षीय १ पुरुषको ज्यान गएको छ । 


बेलटारस्थित उदयपुर कोविड अस्पतालमा उपचाररत उनलाई केहीदिनअघि रिफर गरेपछि विराट मेडिकल कलेज बिराटनगर भर्ना गरिएको थियो । भेन्टिलेटरमा उपचारत उनको शुक्रबार विहान मृत्यु भएको चौदण्डीगढी ६ का वडाध्यक्ष कमल राईले बताए । वडाध्यक्ष राईका अनुसार शुक्रबारसहित चौदण्डीगढीमा कोविडले मृतकको संख्या २ महिलासहित ७ जना पुगेको छ ।