कोविडले अकल्पनीय घट्ना, एकै परिवारका ३ को मृत्यु

२0७८ जेष्ठ २0 बिहीबार
कोविडले अकल्पनीय घट्ना, एकै परिवारका ३ को मृत्यु

उदयपुर, जेठ २०


कोविड भेरिएन्टले उदयपुरमा एउटै परिवारका ३ जनाको ज्यान लिएको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीका तुलबहादुर मस्राङ्गी मगर, उनकै सहोदर दाजु पुस्कल मगर र आमा तिलमायाको कोविडले ज्यान लिएको हो । 


कोविड संक्रणपछिपछि सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसनमा उपचाररत साईला छोरा ४५ वर्षीय तुलबहादुरको अवस्था गम्भीर भएपछि १३ गते रिफर गरेर बिराट नर्सिङहोममा भर्ना गरिएकोमा ३६ घण्टा नबित्दै १५ गते मृत्यु भएको थियो । सहोदर दाजु  ५१ वर्षीय पुस्कललाई गाईघाटले रिफर गरेर बिराटनगर लगेकोमा १८ गते ज्यान गयो । 


३ दिनको फरकमा दुई छोरा उमाउँदा बिक्षिप्त बनेकी बृद्धा आमा तिलमाया बेहोस् भएपछि घरमै उपचाररत थिईन् । ७१ वर्षीया तिलमायामा पनि कोविड देखिएपछि घरमै अक्सिजन दिएर उपचार भइरहेकोमा बिहीबार विहान मृत्यु भएको हो ।  साईलो छोराले छाडेको ६ दिन र जेठोले छाडेको ३ दिनपछि उनले पनि छोराहरुकै बाटो रोज्दा एउटै परिवारमा ३ जनाको देहान्त भएको हो । 

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार कोविडले एकै घरका ३ जनाको मृत्यु भएको यो पहिलो घट्ना हो । उनीहरुसँगै जिल्लामा कोविडका कारण मृतकको संख्या ३९ पुगको छ जसमा महिला १२ जना र बाँकी पुरुष छन् । 


एकै घरका ३ जनाको मृत्यु भएपछि मुर्कुची बजार अहिले पुरै शोकमग्न हुन पुगेको छ । स्थानीय मुर्कुची माविका प्राचार्य खड्ग थापामगरले मगर परिवारमा अत्यन्त ठूलो बज्रपात भएको बताए । यस्तो घट्ना बेहोर्नुपर्छ भनेर कसैले कल्पना नगरेको बताउँदै उनले भने ‘यस्तो अकल्पनीय घट्ना यसअघि कहिल्यै देख्नु भोग्नु परेको थिएन । अव पनि कतै देख्नु भोग्नु नपरोस् ।’ 


परिवारका कान्छा छोरामा पनि संक्रमण देखिएकोमा गाईघाटकै आईसोलेसनमा उपचारपछि ३ दिनअघि मात्र संक्रमणमुक्त भएका छन् । तर, कोविड रिपोर्ट नेगेटिभ आए पनि रोगले जर्जर शरीर तङ्रिन नपाउँदै दुई दाजु र आमा गुमाउनुको पीडामा मल्हम लाउन नपाउँदै आमाको दुःखमा कोरा बस्नुपर्ने भएको छ । 


बुधबारसम्म उदयपुरमा ४ सय ७२ महिलासहित १ हजार ४४ जना सक्रिय संक्रमित पुगेको छ । उनीहरुको सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसनमा २ महिलासहित १७ जना उपचारर छन् । १४ जनालाई अक्सिजन दिएर र बाँकी साधारण वार्डमा उपचाररत रहेको फोकलपर्सन शिवकुमार यादवले बताए । 


त्यस्तै बेलटारस्थित उदयपुर कोविड अस्पतालमा २४ महिला र १८ पुरुष गरी ४२ जनाको उपचाररत भईरहेको फोकलपर्सन तेजबहादुर पोखरेलले बताए । बुधबार त्यहाँबाट ३ महिलासहित १० जना निको भएका छन् । यो सँगै उदयपुरमा निको हुनेको संख्या २ सय ४९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।