उदयपुरमा ४७ संक्रमित थपिए, २३९ निको

२0७८ जेष्ठ १८ मंगलवार
उदयपुरमा ४७ संक्रमित थपिए, २३९ निको

उदयपुर, जेठ १८

उदयपुरमा मंगलबार २३ महिलासहित ४७ जना नयाँ संक्रमित थपिएका छन् । यो थपसँगै कोविड संक्रमितको संख्या उदयपुरमा १ हजार १६ पुगेको छ । 


संक्रमितमध्ये ४ सय ५६ महिला छन् भने बाँकी पुरुष रहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । मंगलबार थपिएका संक्रमितमा त्रियुगामा १७, बेलकामा १०, लिमचुङबुङका ८ र रौतामाई तथा चौदण्डीगढीका ६–६ जना रहेका छन् । 


मंगलबार निको हुनेको संख्या २ रहेको छ । यो सँगै जिल्लामा निको हुनेको संख्या १ सय ४ महिलासहित २ सय ३९ पुगेको छ । निको हुनेमा त्रियुगामा ४१ महिलासहित १ सय १, चौदण्डीगढीमा २५ महिलासहित ५८, बेलकामा २२ महिलासहित ४१ र कटारीमा ६ महिलासहित १६ छन् । त्यस्तै  रौतामाईमा २ महिलासहित ९, लिमचुङबुङमा ४ महिलासहित ८, उदयपुरगढीमा ३ महिलासहित ५ र ताप्लीमा एक महिला निको भएको स्वास्थ्यका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए । 


हाल त्रियुगाका २ सय १५ महिलासहित ४ सय ९० जना सक्रिय संक्रमितम छन् भने चौदण्डीगढीका ६० महिलासहित १ सय २४, कटारीमा ५२ महिलासहित १ सय १४ र बेलकामा ५९ महिलासहित १ सय १४ जना उपचारमा छन् । गाउँपालिकातर्फ सबभन्दा बढी रौतामाईमा २८ महिलासहित ७८, लिमचुङबुङमा ३१ महिलासहित ६०, उदयपुरगढीमा १० महिलासहित ३१ र ताप्लीमा १ महिलासहित ५ जना उपचाररत रहेको लुईटेलले बताए ।


संक्रमितमध्ये ६१ जनाको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ९ सय ६३ जना  होमआईसोलेसनमा छन् । बेलटारस्थित उदयपुर कोविड अस्पतालमा १९ महिलासहित ४० जना संक्रमितको उपचार भईरहेको चौदण्डीगढी स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए । त्यस्तै  गाईघाटस्थित आँखा अस्पतालको आईसोलेसन सेन्टरमा २१ जनाको उपचार भईरहेको केन्द्रका फोकलपर्सन शिवकुमार यादवले बताएका छन् ।


कोविडले मृत्यु हुनेको संख्या स्वास्थ्य कार्यालयको रिपोर्टमा ३५ जना मात्र रहे पनि जिल्लामा थप दुईजनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । जस अनुसार हालसम्म ३७ जनाको ज्यान कोविडले लुटिसकेको छ । मंगलबार रौतामाई ७ मुर्कुचीका ४६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


३ दिनअघि मात्र उनको सहोदर भाइ ४२ वर्षीय पुरुषको कोविडकै कारण मृत्यु भएको थियो । भाईको मृत्युको ३ दिनपछि दाजुको पनि मृत्यु भएपछि परिवारजन गहिरो शोकमा डुबेको छ भने गाउँ पुरै स्तभ्ध भएको छ । दुवै छोराको मृत्युको खवरले बृद्धा आमा बेहोस् भएको स्थानीयले बताएका छन् ।