औषधी कालोबजारी गर्ने मेडिकल संचालक पक्राउ

२0७८ जेष्ठ १७ सोमबार
औषधी कालोबजारी गर्ने मेडिकल संचालक पक्राउ

उदयपुर, जेठ १७

कोविड भेरिएन्टको जर्जर अवस्थामा औषधि कालोबजारी गर्ने एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका १५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक सोही ठाउँका ३५ वर्षीय रविकुमार रजक पक्राउ परेका हुन् । 


घरबाट फिजिसिएन स्याम्पसलका औषधि, मुटुसम्बन्धी औषधि, दुखाई कम गर्ने पेनकिलर, एन्टीबायोटिकलगायत औषधि कालोबजारी गर्ने गरेको आरोपमा उनलाई आईतबार दिउँसो साढे १ बजे पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 


बिभिन्न औषधिलाई नयाँ लेबल लगाएर कालोबजारी गर्ने गरेको विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटेको संयुक्त टोलीले रजकको घरबाट बिभिन्न औषधि कालोबजारी गर्ने गरेको प्रमाण फेला पारेको छ ।


रजकले बिभिन्न खाले औषधि भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही गर्नेगरी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।