७६ संक्रमित थपिदा १४ निको, गाईघाटमा २१, बेलटारमा २६ उपचाररत

२0७८ जेष्ठ १६ आईतवार
७६ संक्रमित थपिदा १४ निको, गाईघाटमा २१, बेलटारमा २६ उपचाररत

उदयपुर, जेठ १६

आईतबार उदयपुरमा ७६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा महिला ३२ र पुरुष ४४ पुरुष छन् । यो सँगै जिल्लामा सक्रीय संक्रमतिको संख्या ९ सय १६ पुगेको छ । 


नयाँ संक्रमित सबभन्दा बढी बेलका नगरपालिकामा १९ महिलासहित २७ जना छन् । कटारीमा ११ महिलासहित २१, चौदण्डीगढीमा ८ महिलासहित १८ र त्रियुगा नगरपालिकामा ६ जना पुरुष संक्रमित थपिएका छन् भने रौतामाई गाउँपालिकामा ३ महिलासहित ४ जना रहेको स्वास्थ्यले जनाएको छ ।


ताप्ली गाउँपालिकामा पनि संक्रमित देखिएको भए पनि त्यसको अभिलेख भने स्वास्थ्य कार्यालयको तथ्यांकमा समेटिएको छैन । अघिल्लो दिन जँचाइएकाहरुमा संक्रमण देखिएको तर, औपचारिक बिबरण नआएकाले स्वास्थ्यको तथ्यांकमा अद्यावधि नभएको हो । 


ताप्ली गाउँपालिकाका चालक, एक प्रहरी जवान, एक हवल्दार र एकजना प्रहरी सहायक निरीक्षक (असई) मा एन्टीजेन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । तर, औपचारिक जानकारी गाउँपालिकाले पठाउन बाँकी रहकाले तथ्यांकमा अद्यावधि नभएको बताइएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आईतबार संक्रमितमध्ये १४ 
जना निको भएका छन् । 


पछिल्लो तथ्यांक अनुसार त्रियुगा नगरपालिकामा संक्रमित संख्या घट्दै गएको छ । त्रियुगामा आईतबार ६ जना थपिएका छन् भने शनिबार २ महिलासहित ४ जना संक्रमित देखिएका थिए । सदरमुकामको बजार भएकाले आउजाउ र चलखेल बढी हुने हुँदा संक्रमित ह्वात्तै बढेको गाईघाटमा निशेधाज्ञा कडाई गर्न थालेपछि संक्रमण घट्दै गएको हो । 


उदयपुरगढी, रौतामाई र लिमचुङबुङमा पनि पहिलाको दाँजोमा संक्रमित कम देखिन थालेको छ  । बिगत ३ दिनयता उदयपुरगढी र लिमचुङबुङमा नयाँ संक्रमित देखिएका छैनन् भने रौतामाईमा आईतबार ५ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार पनि यी तीन गाउँपालिकामा कुनै संक्रमित देखिएका थिएनन् ।
    
गाईघाटमा २१, बेलटामार २६ उपचार हुँदै

चौदण्डीगढी ६ सातधारे बेलटारस्थित उदयपुर कोविड अस्पतालमा हाल १३ महिलासहित २६ जना संक्रमितको उपचार भईरहेको छ । त्यहाँ हालसम्म ९७ जना संक्रमित उपचार्थ भर्ना भएकोमा ५६ जना निको भएर घर फर्किसकेका छन् भने १३ जना रिफर गरिएको छ । दुईजनाको भने दुखद निधन भएको अस्पतालका इन्चार्ज तेजबहादुर पोखरेलले बताए । 


सो अस्पतालबाटै संक्रमित देखिएका चौदण्डीगढीका ६८ महिलासहित १ सय ४१ जना होमआईसोलेसनमा उपचाररत रहेकोमा २६ महिलासहित ५९ जना निको भईसकेका छन् । ४२ महिलासहित ८० जना संक्रमित होमआईसोलेसनमै उपचाररत रहेको पोखरेलले बताए । 


आईतबार अस्पतालमा उपचाररतमध्ये १४ महिलासहित ३७ जनाको फलोअप एन्टीजेन परीक्षण् गरिएको छ भने १० महिलासहित २८  जना नयाँ लक्षण भएकाको परीक्षण गरिएको छ । जसमा ६ महिलासहित १३ जनामा पोजेटिभ देखिएकामध्ये १ जनालाई अस्पतालमा र बाँकी १२ जनालाई होमआईसोलेसनमै राखेर उपचार व्यवस्था मिलाइएको पोखरेलले बताएका छ्न ।


यता सदरमुकाम गाईघाटस्थित आँखा अस्पतालको आइसोलेसनमा २१ जनाको उपचार भईरहेको छ । जसमध्ये २ पुरुष आईतबार भर्ना भएका हुन् भने बाँकी पुराना संक्रमित रहेको आईसोलेसन सेन्टरका फोकलपर्सन शिवकुमार यादवले बताएका छन् ।