'सिटी सिनेमा खोप'बारे प्रदेश सरकारको स्पष्टीकरण

२0७८ जेष्ठ १६ आईतवार
'सिटी सिनेमा खोप'बारे प्रदेश सरकारको स्पष्टीकरण

उदयपुर, जेठ १६

प्रदेश १ मुख्यमन्त्रीको कार्यालयले एक विज्ञप्ती प्रकाशित गरी तीनदिनअघि बिराटनगरको सिटी सिनेमा हलमा लगाइएको खोपको विषयमा अनर्गल र तथ्यहीन प्रचारप्रसार भएको भन्दै खण्डन गरेको छ ।आईतबार मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रब सुबेदीले विज्ञप्ती जारी गर्दै १४ गते बिभिन्न स्रेतको हवाला दिदै बिराटनगरमा मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम रहेको, मुख्यमन्त्रीको सचिवालयको दबाबमा खोप लगाइएकोजस्ता समाचारहरु अनर्गल र प्रायोजित भएको भन्दै खेद प्रकट गरिएको छ । 


प्रदेश सरकार र मुख्यमन्त्री स्वयं पहिलो खोप लगाएका सबैलाई प्रोटोकल अनुसार मौज्दात खोपबाट दोस्रो डोज लगाउँदै, थप खोपकोव्यवस्था गर्न लागि परिरहेका बेला यस्तो गम्भीर आरोप लगाएर भ्रमपूर्ण प्रचार गर्नुलाई आश्चर्यजनक र निन्दनीय भएको विज्ञप्तीमा जनाइएको छ । 


प्रदेश सरकार सम्पूर्ण प्रदेशबासीलाई कोविडबाट बँचाउन, रोकथाम र नियन्त्रण तथा उपचारका सबै उपाय, स्रोत र सामथ्र्य जुटाउन संघीय सरकारसँग समन्वय गर्दै खोप खरिद गर्नेबारे परामर्शमा जुटेको पनि विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा यस्तो समाचारको भ्रममा नपर्न पनि प्रदेशबासीमा आग्रह गरिएको छ । 

 
  प्रेस विज्ञप्ति

मिति २०७८ जेठ १४ गते विराटनगरमा कोरोना खोपको विषयलाई लिएर केही सञ्चार माध्यमहरुमा आएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न स्रोतको हवाला  दिएर मुख्यमन्त्री निवासमा खोप लगाउने योजना रहेको, मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम रहेको, अझ मुख्यमन्त्रीको सचिवालयको दबावमा खोप लगाएको भन्ने जस्ता अर्नगल एवम् प्रायोजित रुपबाट गरिएको प्रचार र लेखिएका समाचारहरु प्रति खेद प्रकट गर्दै त्यस्ता भ्रमपुर्ण र प्रायोजित समाचारहरुको हामी खण्डन गर्दछौं । 


पहिलो डोज खोप लगाएका सबैलाई प्रोटोकल अनुसार मौज्दात खोपबाट दोश्रो डोजको खोप लगाउँदै थप खोपको व्यवस्था गर्न र बाँकी सबै नागरिकका लागि खोपको शीघ्र व्यवस्था गर्न अहोरात्र जुटिरहनु भएका मुख्यमन्त्रीलाई सोच्नै नसकिने तहको आरोप लगाएर भ्रमपूर्ण प्रचार गरिनु आश्चर्यजनक र निन्दनीय रहेको स्पष्ट पार्न चाहन्छौं ।


प्रदेश सरकार प्रदेशका नागरिकलाई कोभिड १९ को भाइरसबाट बचाउन, त्यसको रोकथाम, नियण्त्रण र उपचारमा सबै उपाय, स्रोत र सामर्थ्य जुटाएर अहोरात्र सक्रिय रहेको छ । प्रदेश नं १ का सबै नागरिकका लागि खोप लगाउन संघीय सरकार संग समन्वय गर्दै खोप खरिदकाबारे परामर्श गरिरहेको समेत जानकारी गराउँदछौं । यसप्रकार प्रायोजित ढंगबाट गरिएका प्रचार र लेखिएका समाचारहरुमा कुनै सत्यता नरहेकोले भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौं ।

 

ध्रुव सुवेदी

प्रेस सल्लाहकार

१६ जेठ, २०७८