निशेधाज्ञा जेठ २१ सम्म, सक्रमित ८१६, निको हुने १७७ 

२0७८ जेष्ठ १३ बिहीबार
निशेधाज्ञा जेठ २१ सम्म, सक्रमित ८१६, निको हुने १७७ 

उदयपुर, जेठ १३

कोविड भेरिएन्ट महामारी रोक्न उदयपुरमा थप एकसाता निशेधाज्ञा लगाउने निर्णय भएको छ । संक्रमण क्रम नरोकिएपछि बिहीबार बसेको जिल्ला कोविड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जेठ २१ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 


निशेधाज्ञा थपिएको यो चौथो चरण हो । गत वैशाख २५ गतेदेखि जिल्लामा निशेधाज्ञा लगाउन सुरु गरेको डिसिसिएमसीले यसअघि तीनपटक एकएक साता थप्दै जेठ दोस्रो साता अर्थात १४ गते राति १२ः०० बजेसम्मलाई थपेको थियो । तेस्रो पटकसम्ममा पनि संक्रमण दर नघटेपछि अर्को एकसाता थप गर्ने निर्णय गरेको हो । 


उदयपुरमा पछिल्लो साता संक्रमितको संख्या ५ सय नाघेर बिहीबारसम्म ८ सय १६ पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बिहीबार मात्र २९ महिलासहित ६१ नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु त्रियुगामा ८ महिलासहित २५,  चौदण्डीगढीका ३ महिलासहित २१, बेलकाका ३ महिलासहित ६ र रौतामाईमा ५ महिलासहित ९ जना संक्रमित रहेका छन् । 


स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीका अनुसार बिहीबारसम्म १ सय ७७ जनाले कोविड परास्त गरेर घर फर्कन सफल भएका छन् । बिहीबार १३ महिलासहित ५३ जनाले कोविड जितेर घर फर्केका छन् । 


हाल त्रियुगा नगरपालिकामा १ सय ७६ महिलासहित ३ सय ९२ जना सक्रीय संक्रमित रहेका छन् भने २६ महिलासहित ६८ जना निको भएका छन् । कटारीमा ४१ महिलासहित १ सय १ संक्रमितको उपचार भईरहेका बेला ४ महिलासहित ८ जना निको भएका छन् । 


त्यस्तै चौदण्डीगढीमा ४७ महिलासहित ९८ जना संक्रमित उपचाररहत रहँदा २१ महिलासहित ४७ निको भएका छन् भने बेलकामा ३९ महिलासहित ७२ संक्रमितको उपचार भईरहँदा १६ महिलासहित ३४ जना निको भएका छन् । 


त्यसैगरी लिमचुङबुङ गाउँपालिकामा २६ महिलासहित ५१ जना संक्रमित छन् भने ४ महिलासहित ८ जना निको भएका छन् । त्यस्तै रौतामाईमा २३ महिलासहित ७० संक्रमितको उपचार भईरहेको छ भने ३ महिलासहित ७ जना निको भएका छन् । उदयपुरगढीमा १० महिलासहित ३१ जना संक्रमित आईसोलेसनमा रहँदा ३ महिलासहित ४ जना र ताप्लीमा १ मात्र संक्रमित महिला निको भईसकेकी छिन् । 


संक्रमितमध्ये उदयपुर कोविड अस्पताल बेलटारमा ११ महिलासहित ३० जनाको उपचार भईरहेको छ । अन्यको मदन भण्डारी आँखा अस्पताल गाईघाट, कटारी नगर अस्पताल, बेलका नगर अस्पताल र लिमचुङबुङ गाउँ अस्पताल तथा धरान र विराटनगरका अस्पतालहरुमा उपचार भईरहेको स्वास्थ्यले जनाएको छ । 


कोविड अस्पताल बेलटारका इन्चार्ज तेजबहादुर पोखरेलका अनुसार बिहीबार २ महिलामा संक्रमण देखिएको र उनीहरु  होम आईसोलेसनमा रहेका छन् । अस्पतालबाट हालसम्म दोस्रो कोविड भेरिएन्टयता ३३ महिलासहित ८७ जना भर्ना भएकोमध्ये  १५ महिलासहित ४४ जना निको भएका छन् । 


उदयपुरमा हालसम्म १० महिलासहित ३० जनाको कोविडका कारण ज्यान गएको छ । बिहीबार त्रियुगा नगरपालिका २ का एक ४० वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्यका तथ्यांक अधिकृत उमेश लुईटेलले बताएका छन् ।