उदयपुरमा कोविडः २३ थपिए, २५ निको, नयाँ संक्रमित पहाडी भेगमा बढी

२0७८ जेष्ठ ९ आईतवार
उदयपुरमा कोविडः २३ थपिए, २५ निको,  नयाँ संक्रमित पहाडी भेगमा बढी

उदयपुर, जेठ ९


उदयपुरमा पछिल्लो २४ घण्टामा २३ जना कोविड संक्रमित थपिएका छन् भने २५ जना संक्रमित निको भएर घर फर्केका छन् । संक्रमितभन्दा दुईजना बढी निको भएर फर्केपछि जिल्लामा कोविड संक्रमणको अवस्था स्थीर हुँदै गएको अनुमान गरिएको छ । 


शनिबार ६८ संक्रमित थपिदै ५ जनाको ज्यान गएपछि त्रसित भएको जिल्लाको मनोविज्ञानलाई यसले केही भए पनि राहत महसुस गराएको छ । शनिबार ५ सय ४४ सक्रीय संक्रमित रहेकोमा आईतबार १४ महिला र ९ पुरुष गरी २३ जना थपिए पनि १२ महिलासहित २५ जना निको भएपछि सक्रीय संक्रमितको संख्या ५ सय ४२ मा ओर्लेको हो । 


स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हाल जिल्लामा सक्रीय संक्रतिको संख्या २ सय ४९ महिला र २ सय ९३ जना पुरुष रहेका छन् । उनीहरुमध्ये उदयपुर कोविड अस्पताल बेलटार, गार्इँघाटस्थित आँखा अस्पताल बाँसबारी र बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने अधिकांश घरमै आईसोलेट भएर उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 


शनिबार २८ महिला र पुरुष ६० गरी ८८ जना निको भएका थिए । आईबार महिला १२ जना र पुरुष १३ जना निको भएसँगै कोविडलाई परास्त गर्नेको संखय १ सय १३ पुगेको छ । 


नयाँ संक्रमित पहाडी भेगमा बढी

कोविडका नयाँ संक्रमितहरु पहाडी भेगमा बढी देखिन थालेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए । उनका अनुसार लिमचुङुङ गाउँपालिकामा ९ महिलासहित १४ जना नयाँ संक्रमित पाइएका छन् । लिमचुङुङ ४ बलम्तामा ६ महिलासहित ९ जना संक्रमित देखिएका छन् भने २ नं. वडा ताम्लिछामा ४ महिलासहित ५ जनामा कोविड पुष्टि भएको छ । 


आईतबार देखिएका नयाँ संक्रमितहरुमा त्रियुगामा ५ जना, बेलकामा ३ र चौदण्डीगढीमा १ जना रहेका छन् । धेरै संक्रमित र निको हुनेहरु त्रियुगा नगरपालिकाका छन् । त्रियुगामा अहिले २ सय ७० सक्रीय संक्रमित छन् भने २० महिलासहित ५५ जना निको भईसकेका छन् । 


चौदण्डीगढीमा ७६ सक्रीय संक्रमितको उपचाररत भईरहेको छ भने ८ महिलासहित २४ जना निको भईसकेका छन् । त्यस्तै बेलकामा ७६ सक्रीय संक्रमित हुँदा ५ महिलासहित १८ जना निको भईसकेका छन् भने कटारीमा ४३ संक्रमितको उपचार भईरहदा ४ महिलासहित ८ जना निको भएका छन् । 


लिमचुङुङमा ३७ संक्रमितको उपचार भईरहेको छ भने १ जना निको भईसकेका छन् भने रौतामाईमा २१ संक्रमितको उपचार भईरहँदा १ महिलासहित ५ जना निको भईसकेका छन् । २४ संक्रमितको उपचार भईरहेको उदयपुरगढीमा १ जना र ताप्लीमा देखिएका १ मात्र संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्यको आँकडाले देखाएको छ । 


जिल्लामा हालसम्म कोविडले ६ महिलासहित २३ जनाले ज्यान गुमाईसकेका छन् । त्रियुगाका ४ महिलासहित १४, कटारीका १ महिलासहित ३, चौदण्डीगढीका ३ पुरुष, बेलकाका १ पुरुष, उदयपुरगढीका १ महिलासहित २ ले ज्यान गुमाएको स्वास्थ्यले जनाएको छ ।