कोविड कहरः फेरि ५ को मृत्यु १८ निको हुँदा ६८ संक्रमित थप

२0७८ जेष्ठ ८ शनिबार
कोविड कहरः फेरि ५ को मृत्यु १८ निको हुँदा ६८ संक्रमित थप

उदयपुर, जेठ ८

उदयपुरमा गएको २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । मृतकहरु ४ जना त्रियुगा नगरपालिकाका हुन् भने एक उदयपुरगढीका भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

 

यो मृत्यु संख्या अहिलेसम्मकै ठूलो भएको स्वास्थ्यले जनाएको छ । यसअघि एकसाताअघि ४ जनाको ज्यान गएको थियो । यो सहित मृतक संख्या ६ महिलासहित २३ पुगेको छ । त्रियुगामा १४, कटारी र चौदण्डीगढीमा ३÷३ जना, उदयपुरगढीमा २ र बेलकामा १ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए ।  


लुईटेलका अनुसार पछिल्लो २४ घण्टामा ३८ महिलासहित ६८ जना नयाँ संक्रमित थपिएसँगै सक्रीय संक्रमितको संख्या जिल्लामा ५ सय ४४ पुगेको छ । महिला २ सय ४६ र पुरुष २ सय ९८ पुगेको छन् । शनिबारसम्म ११ महिला र १७ पुरुषसहित १८ जना संक्रमित निको भएर घर फर्केका छन् । जिल्लामा कोविडबाट निको हुनेको संख्या २८ महिला र ६० पुरुष गरी ८८ पुगेको छ ।


यसवर्षको कोविड भेरियन्ट पहाडी भेगमा पनि उच्च देखिएका छन् । रुघाखोकी र ज्वरोका बिरामीको स्वास्थ्य जाँच गर्दा भटाभट कोविड संक्रमण पुष्टि हुने गरेको पाइएको छ । जिल्लाको बिकट र पहाडी गाउँपालिका लिमचुङबुङमा शनिबार थप ९ जनमा संक्रमण पुष्टि भएको छ । 


लिमुचङुङ ४ बलम्तामा शनिबार विहान १० जनाको स्वाव परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको लिमुचङुङ अस्पतालका स्वास्थ्य संयोजक कर्णशेर राईले बताए । उनका अनुसार लिमुचङुङमा सक्रीय संक्रमित संख्या अहिले २३ पुगेको छ । 


यसअघि लिमुचङुङ १ मा १४ जनामा संक्रमण देखिएकोमा १ जना उदयपुर कोविड अस्पताल बेलटारबाट संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने बाँकीको गाउँ अस्पताल बाराहामै उपचार भईरहेको संयोजक राईले बताए । ज्वरो र रुघाखोकी लागेर कोविडको लक्षण देखिएका सबै वडामा स्वास्थ्यकर्मी टोली खटाएर घुम्ती टोलीमार्फत स्वास्थ्य परीक्षण गर्ने कार्य भईरहेको राईको भनाई छ ।