उदयपुरमा ६० संक्रमित निको भए

२0७८ जेष्ठ ७ शुक्रबार
उदयपुरमा ६० संक्रमित निको भए

उदयपुर, जेठ ७


शुक्रबार एकैदिन ३० जना संक्रमितले कोरोना भाईरसलाई पछारेर घर फर्केका छन् । केहीदिनयता अत्याधिक बढ्दै गएको संक्रमित पछिल्लो समय निको हुने क्रम बढ्दै गएको हो । 


शुक्रबार मात्र ११ महिलासहित ३० जना संक्रमित निको भएसँगै जिल्लामा निको हुनेको संख्या ६० पुगेको छ । बिहीबार पनि ८ महिलासहित ३० जना संक्रमित निको भएका थिए भने बुधबार ८ महिलासहित २६ जना निको भएका थिए । 


अहिलेसम्म १७ महिलासहित ६० जना संक्रमितले कोविडलाई परास्त गर्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । एकसाताअघिसम्म निको हुनेको संख्या धेरै कम थियो भने बरु दैनिक १–२ जना निको हुँदा ४ जनासम्मको दिनमा मृत्यु भईरहेको थियो । 


निको हुनेहरु बढ्न थालेपछि जनमानसमा मनोवैज्ञानिक त्रास क्रमशः घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख अन्तिम सातायता दिनहुँ दुई–अढाई दर्जनसम्म संक्रमित थपिदै आएका थिए । वैशाख २३ गते सबभन्दा बढी एकैदिन ३३ संक्रमित थपिएका थिए भने त्यसपछि लगातार दिनहुँ २० देखि अधिकत ४१ जनासम्म थपिदै थिए । 


संक्रमित संख्याको ग्राफ बढ्दो र मृत्यु दरमा बृद्धिपछि प्रशासनले सदरमुकामलगायत व्यापारिक केन्द्रहरुमा कडाई गर्दै निशेधाज्ञा र ‘सिल’समेत गरेको छ । ४ दिनअघि एकैदिन ४१ जना संक्रमित देखा परेका थिए भने दुईदिनसम्म ४ जनाका दरले मृत्यु भएको थियो । 

गएको मंगलबारयता जिल्ला कोविड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले नेपाली सेनाको पेट्रोलिङसमेत थालेर मानव चलखेल रोक्ने प्रयास गरेको छ । निशेधाज्ञाले थाम्न नसकेपछि कटारी बजार, त्रियुगा नगरपालिका १६ नं. वडा र बेलका ४ नं. लाई सिल पनि गरेको छ । 

शुक्रबार ८ महिलासहित २० जनामा संक्रमण देखिएको छ । नयाँ संक्रमितहरुमा १ जना रौतामाईका पुरुष र बाँकी त्रियुगा नगरपालिकाका छन् । यो सँगै जिल्लामा सक्रीय संक्रमितको संख्या ५ सय ५ मा झरेको छ । अघिल्लो दिन ५ सय ९ सक्रीय संक्रमित थिए । २० नयाँ थपिदा ३० जना निको भएपछि सक्रीय संक्रतिको ग्राफ ओरालो लाग्दा जिल्लाबासीमा केही राहत महसुस भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । 


निको हुनेमा त्रियुगा नगरपालिकामा ९ महिलासहित २८ जना छन् भने कटारीमा ३ महिलासहित ७ जना छन् । चौदण्डीगढीमा ३ महिलासहित १२ जना निको हुँदा बेलकामा १ महिलासहित ९ जना निको भएका छन् । रौतामाईमा २ महिला निको हुँदा लिमचुङबुङमा १ जना र ताप्लीमा १ जना मात्र संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्यले जनाएको छ । 


यता शुक्रबार २ जनाको मृत्यु भएको छ । उदयपुरगढीकी ५५ वर्षीया महिला र कटारी नगरपालिकाका ५६ वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए । जिल्लामा हालसम्म ६ महिलासहित १८ जनाको मृत्यु कोविडले भएको लुईटेलले बताएका छन् ।