कोरोनाको के डर, सुकुम्बासीका घरमा डोजर: मेयर, उपमेयर र वडाध्यक्षको घर तोडफोड

२0७८ जेष्ठ ६ बिहीबार
कोरोनाको के डर, सुकुम्बासीका घरमा डोजर:                          मेयर, उपमेयर र वडाध्यक्षको घर तोडफोड

उदयपुर, जेठ ६

 


कोविडको डरले घरघरमा बस्नुपर्ने बाध्यताका बेला कटारी नगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि जनता नाराजुलुस गर्दै बजार निस्केका छन् । कोविडबाट बँच्न प्रशासनले जारी गरेको निशेधाज्ञाकै अवधिमा कटारी नगरपालिका ४ जहडीस्थित सुकुम्बासी बस्तीका घर डोजर लगाएर नगरले भत्काएपछि प्रतिरोधमा उत्रिएका स्थानीयले बजारमा जुलुस निकाल्दै नगरप्रमुख र उपप्रमुख तथा वडाध्यक्षको घर तोडफोड गरेका हुन् ।


कोविड तिब्ररुपमा फैलदै दिनहुँ संक्रमितको मृत्यु भईरहेपछि निशेधाज्ञा कडाई गर्दै कटारीलाई मंगलबारदेखि ११ गतेसम्मलाई सिल गरिएको थियो । तर, नगरपालिकाको डोजरले सुकुम्बासी बस्तीमा सन्तबहादुर सुनुवारको १ तले पक्की घर र कोविडकै कारण मृत्युको किरीया बसेका मानबहादुर दनुवारको छेरा दिनेशको छाप्रो घर भत्काएपछि आन्दोलित स्थानीयले जनप्रतिनिधिको घर तोडफोड गरेका हुन् । 


निशेधाज्ञा अवधिमा अभिभावक गुमाएर किरीया बसेको घरसमेत डोजर लगाएर भत्काउनु अत्यन्त अमानवीय र सम्बेदनाहीन कार्य भन्दै अहिले नगरपालिकाविरुद्ध सामाजिक सञ्जालमा विरोध भईरहेको छ । आक्रोसित स्थानीयको जमातले नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, वडाध्यक्ष कृष्णराज दनुवार र नगर ओभरसियर ओम मिश्रको घरमा ढुंगा प्रहार गरी क्षति पुर्याएको स्थानीयले बताएका छन् । ढुंगा प्रहारबाट मेयर श्रेष्ठको घरको झ्यालका सिसा फुटेका छन् भने उनी सवार नगरपालिकाको जीपमा क्षति पुगेको छ । उपमेयर राउत र वडाध्यक्ष दनुवारको घरमा पनि क्षति पुगेको प्रत्यक्षदर्शी स्थानीयले बताए । 


जहडीस्थित सुकुम्बासी बस्ती बिगत २–३ दशकदेखि बसोबास गर्दै आएको स्थानीयको भनाई छ । नगरपालिकाले त्यहाँ बस्दै आएकालाई छाड्न दबाब दिदै पटकपटक पत्रकाचार गरिसक पनि नछाडेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ । साविक बसपार्कलाई त्यहाँ सार्ने योजनासमेत नगरपालिकाले अघि सारेको जनाइएको छ । बस्तीबासीले भने सो ठाउँ छाड्नुपरे अर्को ठाउँमा आफुहरुलाई जमिन व्यवस्था गर्नुपर्ने माग गर्दै आएको भूमि अधिकार मञ्च कटारीले जनाएको छ । 


नगरपालिकाभित्रका ऐलानी जमिनको सुरक्षा गर्नु कर्तव्य ठानेर डोजर लगाएको मेयर श्रेष्ठले दावी गरे । उनका अनुसार निशेधाज्ञाकै बेला धमाधम आरसिसी बिल्डिङ बनाउन थालेपछि भत्काउनुपरेको हो । ऐलानी जमिन सुरक्षा गर्नु नगरपालिकाको कर्तव्य ठानेको भन्दै उनले प्रशासन तथा अख्तियारबाट पनि भत्काउन निर्देशन आएको बताए । 


‘सुकुम्बासीलाई जमिन व्यवस्थापन गर्ने जिम्मा नगरपालिकाको हो, कोही त्यस्ता सुकुम्बासी भए हामी जमिन दिन्छौं’ मेयर श्रेष्ठले भने ‘तर, सुकुम्बासीसँग आरसिसी विल्डिङ बनाउने सम्पत्ति कहाँबाट आयो ?’     
 

यसैबीच नेपाली कांग्रेस उदयपुरले विज्ञप्ती प्रकाशित गरी नगरपालिकाको कार्यका घोर भत्र्सना गरेको छ । सभापति बिदुर बस्नेतद्वारा जारी विज्ञप्तीमा निशेधाज्ञा अवधिमा अभिभावक गुमाएर कोरा बसेको सुकुम्बासीको घर डोजर चलाएर भत्काउनु अमानवीय र सम्बेनदनाहीन कार्य भएको भन्दै जतिसुकै निन्दा गरे पनि कमै हुने उल्लेख छ । 


त्यसैगरी नेकपा (माओबादी केन्द्र)ले पनि नगरपालिकाको कार्य निन्दनीय भएको जनाएको छ । सरकारी जग्गाको सुरक्षा गर्नु नगरपालिकाको कर्तव्य भए पनि कोविड कहरमा डोजर लगाएर सुकुम्बासीका घर भत्काउनु निन्दनीय भएको पार्टी नेता केपी बरालले बताए । कांग्रेस र माओबादी दुवैले पीडितलाई उचित क्षतिपूर्ति दिन र समस्या समाधान गर्न सर्वदलीय छलफल गरेर निकास निकाल्न नगरपालिकालाई सुझाएका छन् ।