कोविडले उदयपुरमा बुधबार २ को ज्यान गुम्यो, नयाँ संक्रमित ३० थपिए

२0७८ जेष्ठ ५ बुधबार
कोविडले उदयपुरमा बुधबार २ को ज्यान गुम्यो, नयाँ संक्रमित ३० थपिए

उदयपुर, जेठ ५

कोविड संक्रमणका कारण उदयपुरमा पछिल्लो २४ घण्टामा थप दुईजनाको मृत्यु भएको छ भने ३० जना नयाँ संक्रमित थप भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ११ की ४७ वर्षीया महिला र बेलका नगरपालिका ३ का ४७ वर्षकै पुरुषको मृत्यु भएको हो । 


यो सँगै कोविडका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमा महिला ५ रहेका छन् भने ११ पुरुषको मृत्यु भएको जानकारी स्वास्थ्य कार्यालय उदयपुरले दिएको छ । पछिल्लो एकसातायता दिनहुँ मृत्यु हुने क्रम रोकिएको छैन भने संक्रमित संख्या २ दर्जन बढी पुष्टि हुँदै आएको पाइएको छ । उदयपुरमा एन्टीेजन र पिसिआर विधिबाट परीक्षण भईरहेको छ । 


जिल्लामा बुधबार १२ महिलासहित ३० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै उदयपुरमा संक्रमतिको संख्या ४ सय ७६ पुगेको छ । संक्रमितमध्ये २ सय ६ महिला र २ सय ७० पुरुष छन् । बुधबारसम्म कोविड परास्त गरेर निको हुनेको संख्या ३० पुगेको छ । निको हुनेमा ८ महिला र २२ पुरुष रहेका छन् । 


त्रियुगा नगरपालिकामा १ सय १ महिलासहित २ सय ४५ संक्रमित हुँदा ४ महिलासहित १३ जना निको भएका छन् । कटारी नगरपालिकामा १८ महिलासहित ५० संक्रमित भएका छन् भने १ पुरुष निको भएका छन् । त्यस्तै बेलका नगरपालिकामा ४१ महिलासहित ७६ संक्रमित पाइदा २ पुरुष निको भएका छन् भने चौदण्डीगढीमा २९ महिलासहित ६१ संक्रमित हुँदा ३ महिलासहित १० जना निको भएका छन् । 


गाउँपालिकातर्फ रौतामाईमा ४ महिलासहित १५ संक्रमित हुँदा २ पुरुष निको भएका छन् भने लिमचुङबुङमा ५ महिलासहित १३ संक्रमित हुँदा १ पुरुष निको भएर घर फर्केका छन् । त्यस्तै उदयपुरगढीमा १५ र ताप्ली गाउँपालिकामा २ संक्रमितमध्ये एकजना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  


संक्रमितमध्ये चौदण्डीगढी ५ स्थित उदयपुर कोविड अस्पताल बेलटारमा २५ जनाको उपचार भईरहेको छ । जसमध्ये ९ महिला रहेको र ३ जनालाई अक्सिजन दिएर उपचार भईरहेको चौदण्डीगढी स्वास्थ्य संयोजक तेजबहादुर पोखरेलले बताए । उनका अनुसार बाँकी बिरामीको अवस्था सामान्य रहेको छ । अन्य संक्रमितमध्ये केहीको धरान, बिराटनगरलगायत बिभिन्न अस्पतालमा उपचार भईरहेको स्वास्थ्यले जनाएको छ ।