जहाँ अभर त्यहाँ स्थानीय सरकार: पिसिआर प्रयोगशाला र अक्सिजन प्लान्ट अव उदयपुरमै

२0७८ जेष्ठ ४ मंगलवार
जहाँ अभर त्यहाँ स्थानीय सरकार: पिसिआर प्रयोगशाला र अक्सिजन प्लान्ट अव उदयपुरमै

महेश्वर चामलिङ

उदयपुर, जेठ ४


भनिन्छ, स्थानीय सरकार जनताले आवश्यक परेका बेला चिमोठेर सहयोग लिने निकाय हो । लामो राजनीतिक संघर्षपछि प्राप्त संघीयता र गणतन्त्रसँगै आएको परिवर्तनस्वरुप ३ तहका सरकार गठन हुँदा स्थानीय सरकार जनताले चाहदा चिमोठेर, दंग्याएर र घुर्की देखाएर सेवा लिन पाउनुपर्छ । 


त्यहीँ सेवा दिन उदयपुरका स्थानीय सरकारहरु तैनाथ देखिएका छन् । जनतालाई अभर पर्दा तत्काल सहयोग पुग्ने गरी काम गर्ने प्रयासमा उदयपुरका स्थानीय सरकार लागी परेको उदाहरण गतवर्षको कोविड कहरमा जिल्लामै कोविड अस्पताल खोलेर सेवा दिनुलाई मानिन्छ । 


त्यसैगरी अहिलेको दोस्रो कोविड भेरियन्टकालमा पनि यहाँका ८ स्थानीयत सरकारहरु ढिलै भए पनि जनमैत्री काम गर्ने निश्कर्षमा पुगेका छन् । मंगलबार बसेको उदयपुर विकास बोर्डको निर्णय अनुसार जिल्लामै पिसिआर प्रयोगशाला र अक्सिजन प्लान्ट खोल्ने योजना ल्याउनु जनताका लागि खुसीको कुरा हो ।


पछिल्लो समय जिल्लामा अचाक्ली बढेको कोविड भेरियन्टबाट बँच्न बोर्डले बेलकामा अक्सिजन प्लान्ट र बेलटारस्थित कोविड अस्पतालमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष बलदेव चौधरीले बताए । उनका अनुसार मंगलबार बसेको भच्र्युअल (जुम) बैठकले पिसिआर प्रयोगशाला र अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको उनले बताए । 


हाल पिसिआर परीक्षण गर्न धरान, विराटनगर पुग्नुपर्दा रिपोर्ट आउन ढिला हुँदा समयमा बिरामीको उपचार गर्न नसकेर ज्यानसम्म गईरहेको भन्दै जिल्लामै प्रयोगशाला खोल्न बोर्डले निर्णय गरेको र त्यसको कार्यान्वयनका लागि सहयोग जुटाउने प्रयास थालिएको छ । 


प्रयोगशालाका लागि अलि ठूलो रकम लाग्ने भएकाले दातृ निकाय सेभ द चिल्ड्रेनसँग सहयोग माग्ने र अपुग रकम ८ वटा स्थानीयतहले जुटाउने विषयमा लगभग निश्कर्ष निस्केको चौधरीले बताए । अक्सिजन प्लान्टका लागि भने प्रत्यक नगरपालिकाले १० लाख र गाउँपालिकाले ५ लाखका दरले बजेट बिनियोज गर्ने निर्णय भएको छ । 


बैठकले जिल्लाका १८ वर्षमाथिका सबैलाई कोविडविरुद्धको खोप दिन आगामी आर्थिकबर्षको बजेटमा पुर्बाधारतर्फ रकम बिनियोजन गर्न सबै स्थानीयहलाइ आग्रह गर्ने निर्णय गरेको छ । आगामी वर्ष पनि कोविडको यस्तै समस्या आउनसक्ने भन्दै त्यसका लागि अहिलेदेखि नै तयारी भएर १८ वर्षमाथिका सबैलाई खोप दिने व्यवस्था मिलाउन बजेट छुट्याएर स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाउने निर्णय गरेको चौधरीले बताए । 


त्यसो गर्न सके उदयपुरलाई केहीवर्षभित्र कोरोनामुक्त जिल्ला घोषणा गर्न सकिने ठहर बैठकले गरेको छ । ‘वर्षेनीको कोविड कहर मुक्त जिल्ला बनाउन सबै स्थानीयतह मिलेर एकीकृत योजना बनाउने निर्णय भएको छ’ चौधरीले भने ‘त्यसो गर्न सकियो भने केहीवर्षभित्र उदयपुरलाई कोविडमुक्त जिल्ला घोषणा गर्न सकिन्छ ।’ 


बैठकले कोरोनाबाट सप्तकोशी नगरपालिका सप्तरीकी उपमेयर आशादेवी चौरीको मृत्युलाई दुःखद घट्ना भन्दै श्रदान्जली शोक प्रस्ताप पारित गरेको छ । साथै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न भन्दै समबेदना जनाएको छ । 


४ नगर र ४ गाउँपालिका रहेको उदयपुरका स्थानीयतहले गतवर्ष त्रियुगा नगरप्रमुख बलदेव चौधरीको अध्यक्षतामा ‘उदयपुर विकास बोर्ड’ गठन गरे र कोविडविरुद्ध जिल्लाको चौदण्डीगढी ६ सातधारे बेलटारमा उपचारकेन्द्र र आईसोलेसन सेन्टर खोलेर उपचार सेवा प्रवाह गरेका थिए । प्रदेश र संघीय सरकारसँग पटकपटक बजेट सहयोग मागे पनि नपाएपछि आफ्नै पहलमा खोलेको आईसोलेसन सेन्टरमा उदयपुरसहित बिभिन्न जिल्लाका २ सय ४५ संक्रमितको सफल उपचार भएको थियो । 

 

आईसोलेसन सुरु गरेको ६ महिनाभित्रै झण्डै ३ करोड लागतको उदयपुर कोविड अस्पताल भवन बनेको छ । अहिले दुईदर्जन बढी संक्रमितको त्यहाँ अक्सिजन सुविधासहित उपचार चलिरहेको छ भने दर्जन बढी निको भएर घर फर्किसकेका छन् । गाउँपालिका प्रत्येकले १० लाख र नगरपालिकाले २० लाखका दरले १ करोडबाट सुरु भवन स्वीस सरकारले १ करोड ५० लाख र बाँकी चौदण्डीगढीले जोहो गरेर निर्माण भएको हो । 


सुरुमा २२ बेडको उक्त भवन यसवर्ष विरामीको चाप बढ्दै गएपछि ६० बेडमा स्तरोन्नति कार्य सुरु भएको चौदण्डीगढी नगप्रमुख खगेन्द्र राईले बताएका छन् ।