कोविड संक्रमण रोक्न निशेधाज्ञा कडाई, मंगलबारदेखि सेनाको पेट्रोलिङ 

२0७८ जेष्ठ ४ मंगलवार
कोविड संक्रमण रोक्न निशेधाज्ञा कडाई, मंगलबारदेखि सेनाको पेट्रोलिङ 

उदयपुर, जेठ ४


उदयपुरमा दिनहुँ कोविड संक्रमित बढ्न नरोकिएपछि निशेधाज्ञालाई कडाई गर्न नेपाली सेना परिचालन गर्ने तयारी भएको छ । निशेधाज्ञा लागू भएको सातादिन बितिसक्दा पनि मानव चहलपहल नरोकिदा संक्रमण बढ्दै गएपछि जोखिम रोक्न सैनिक पेट्रोलिङको तयारी गरिएको हो ।


सोमबार बसेको जिल्ला कोविड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को भच्र्युअल (जुम) बैठकले दिनहुँ संक्रमितको मृत्यु हुन थालेपछि सजगता अपनाउन सेना परिचालन गर्ने निर्णय गरेको हो । बढ्दो कोविड संक्रमण नियन्त्रण तथा प्रतिकार्यबारे जनतालाई सचेत गराउन सेनाको पेट्रोलिङ गस्ती खटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए । 


डिसिसिएमसीको बिभिन्न १५ बुँदे निर्णयमा मंगलबारदेखि बिरामी, शवबाहन र अत्यावशयक कामबाहेक सबैखाले सवारीसाधन चलाउन रोक लगाइने भएको छ । एउटै बस्तीमा दर्जनबढी संक्रमित देखिएको त्रियुगा नगरपालिका १६ नं. र बेलका नगरपालिका ४ को गुरुङचौरीलाई ‘सिल’ गरिने भएको छ । दुवै वडामा दिनमै दर्जन बढी संख्यामा संक्रमित फेला परेको पाइएपछि नगरपालिकाको सिफारिसमा सिल गर्ने निर्णय भएको हो । 


चौदण्डीगढीको बेलटारस्थित उदयपुर कोविड अस्पतालमा दिनदिनै बिरामीको चाप बढ्दै गएको र चलखेल व्यवस्थित बनाउन सबै कोठामा क्लोज सर्किट (सिसि) क्यामेरा जडान गर्ने निर्णय बैठकले गरेको छ भने त्रियुगा ५ को देउरी स्वास्थ्य चौकीमा १० बेडको आईसोलेसन वार्ड सञ्चालन गर्न उदयपुर सिमेन्ट उद्योग र जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोग गर्न बैठकले आग्रह गरेको छ । 


त्यसैगरी मानव चलखेल अत्याधिक हुने बैंक तथा बित्तीय संस्थाहरु सातामा बढीमा ३ दिन विहान ७ः०० देखि ९ः०० वजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ । होम आईसोलेसमा बस्ने संक्रमितहरु घुमफिर गरेको पाइएको र त्यसो गर्दा अन्यमा संक्रमण हुने भएकाले स्थानीयतहबाट प्रतिबद्ध कर्मचारी खटाएर फोन नं. सहितको बिबरण अद्यावधि गरेको बिबरण स्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने भएको छ । आईसोलेसनका संक्रमितलाई पोषिलो खानेकुरा, औषधि, आयुर्वेदिक चुर्ण र मनोसामाजिक परामर्श दिन स्थानीयतहहरुले स्वास्थ्य कार्यालय, आयुर्वेदिक औषधालय र सामाजिक संघसंस्थाहरुसँग सहकार्य गर्दै घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । 


बेलटार कोविड अस्पताल र गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालका संक्रमितको उपचार थप प्रभावकारी बनाउन दुवै अस्पतालमा ५÷५ बेडको हाई डिपेन्डेन्सी युनिट (एचडियु) सेवा सुचारु गर्न प्रदेश सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्न चौदण्डीगढी नगरपालिका र जिल्ला अस्पताललाई बैठकले आग्रह गरेको छ । साथै विरामीको उपचारका लागि २४ सै घण्टा एम्बुलेन्स र स्वास्थ्यकर्मी तैनाथ गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय भएको सिडिओ सेंढाईले बताएका छन् ।