"कार्ल माक्र्स नेपालमा जिवित छन्"

२0७८ जेष्ठ ३ सोमबार
"कार्ल माक्र्स नेपालमा जिवित छन्"

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रृतको निधन भएको आज २८ वर्ष पूरा भयो । अत्यन्त प्रखर वक्ता, नवीन चिन्तक, धाराप्रवाहरुपमा तर्क पेश गर्न सक्ने वाकपटु क्षमताका धनी भण्डारीले एमालेको पाँचौ महाधिवेशनमा पेश गरेको जनताको वहुदलीय जनवादले नेपाली कम्युनिष्ट आन्दोलन मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ दिशानिर्देश गर्ने आँकलन गरिएको थियो । 


तर, अचानक २०५० जेट ३ गते आजकै दिन पोखराबाट काठमाडौं फर्कदै गर्दा उनीसहित आश्रृत सवार जीप त्रिशुलीमा खसेर बेपत्ता भयो । ३ दिनपछि त्रिशुलीमै शव फेला पर्यो । तर, नेताद्वयको हत्या भएको ठहर गर्दै हत्यारा पत्ता लगाउन एमालेले देशव्यापी आन्दोलन गर्यो । तत्कालीन काँग्रेस नेता गिरीजाप्रसाद कोईराला नेतृत्वको सरकारसँग हत्याराको खोजी र कारबाहीको माग गदै देशव्यापी आन्दोलन गरेको एमाले ०५१ मा पहिलो पटक मनमोहन अधिकारी नेतृत्वमा नेपालमा कम्युनिष्ट अल्पमतको सरकार गठन गर्न सफल भयो । त्यसयता एमालेकै माधव नेपाल २ पटक, झलनाथ खनाल १ पटक र हालसमेत गरी केपी ओली ३ पटक प्रधानमन्त्री भईसकेका छन् । भण्डारी पत्नी विद्यादेवी भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति भएर देशलाई नेतृत्व गरिरहेकी छिन् । तर, अहिलेसम्म मदन आश्रृतको हत्यारा पत्ता लाग्नु त के, खोजी कार्यसमेत हुन छाडेको छ । 

हत्या हुनु केहीसमयअघि मात्र नेपालमा भएको संसदीय चुनावमा काठमाडौंका चुनावी मैदानहरुमा कम्युनिष्टले विपक्षीलाई नराम्रोसँग हराउँदै देशभर राम्रो उपस्थिति जनाएपछि विश्व झस्केको थियो । मदन भण्डारी आफैंले अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराएका थिए । यसपछि अमेरिकाबाट प्रकाशित हुने चर्चित अखवार न्युजविकले भण्डारीसँग अन्तरवार्ता लिएको थियो । भण्डारीको विलक्षण क्षमता देखेर प्रभावित अखवारकी पत्रकार माइकेल लिट्भिनले लिएको अन्तरवार्ता 'इन नेपाल, कार्ल मास्क्स लिभ्स' शीर्षकमा छापिएको थियो । सो अन्नरवार्ता अहिले पनि नेपाली समाजमा मननीय र पठनीय हुने ठानेर नेपाली अनुवादसहित यहाँ प्रस्तुत गरिएको छ । 

 

अन्य देशहरुमा कम्युनिष्टहरु असफल भइरहेको बेलामा तपाईं कसरी सफल हुने सोच्नु हुन्छ ?

साम्यवादको मुख्य उद्देश्य भनेकै समाजका अत्याचार, भ्रष्टाचार र अन्यायहरुको अन्त्य गर्नु हो । यदि विगतमा त्यो नीति कार्यान्वयनका शिलशिलामा केहि भूलहरु भए भने पनि यसको अर्थ यो हैन कि साम्यवादका उद्देश्यहरु असफल भए । जहाँसम्म हाम्रो पार्टीको सवाल छ, हामीले प्रजातन्त्र स्थापनाको निर्णय गरेका छौँ । र, हामी जनताबाट निर्वाचित भएपछि मात्रै सत्तामा जानेछौँ ।

 

मैले तपाईंसँग उत्तर कोरियाली नेता किम इल सुङका पुस्तकहरु देखेँ । उनको बारेमा तपाइँको धारणा के छ ?

किम इल सुङ एक सफल कम्युनिस्ट र नेता हुन्, जसले उनको देशको क्रान्ति र विकासमा योगदान गरेका छन् । म उनका सबै कुराको तारिफ गर्दिन । र, मलाई उनको बिचार नै पच्छ्याउनुपर्छ जस्तो पनि लाग्दैन ।

 

माओको लेखनी बारेमा ?

हाम्रो देशका दुरदराजका केहि युवाहरु चिनियाँ क्रान्तिको इतिहास अध्ययन गरिरहेका छन् र यसबाट सिकिरहेका छन् ।

 

नेकपा (एमाले)ले चीन, सोभियत युनियन र उत्तर कोरियाका कम्युनिस्ट पार्टीहरुसँग कसरी तुलना गर्छ ?

ती सबै पार्टीहरु मुक्ति, समानता र न्यायमा आधारित समाजको स्थापनामा सक्रिय भएका छन् । ती देशका कम्युनिष्ट आन्दोलनहरु विभिन्न रुपले विकसित भएका छन । चीनमा सशस्त्र संघर्षबाट उनीहरुले मुक्ति पाएका थिए भने नेपालमा हाम्रो शान्तीपूर्ण आन्दोलन भयो । चीन र उत्तर कोरियाले विदेशी प्रभुत्व र हस्तक्षेप सामना गरिरहेका छन् । नेपालमा पनि हामीहरुले वैदेशिक हस्तक्षेप, सम्राज्यवाद र क्षेत्रीय प्रभुत्वको विरुद्ध आवाज बुलन्द गरिरहेका छौं ।

 

केही गैरकम्युनिष्टहरु भन्दैछन् कि तपाँइले चीन र भारतीय कम्युनिष्ट पार्टीहरुबाट आर्थिक सहयोग लिइरहनु भएको छ ?

यो झूठ हो । हामीले चिनियाँ, कोरियाली , भारतीय कम्युनिस्ट पार्टीहरु कतैबाट पनि न आर्थिक वा भौतिक सहयोग मागेका छौं न त हामीले लिएका नै छौं । यी आरोपहरु हाम्रा विपपक्षीहरुले लाइरहेका छन् जसले वास्तवमा विदेशी सहयोग लिइरहेका छन् ।

 

जात व्यवस्था र धार्मिक स्वतन्त्रतामा तपाईंको पोजिसन के हो ?

हामी विभिन्न जाजजातीहरुमा हुने सामाजिक विभेद अन्त्य गर्न चाहान्छौं । तर, हामी विभिन्न जातजातीका संस्कृति, रहनसहन र धर्मको सम्मान गर्छौं । केहि पाका मान्छेहरुमा जात व्यवस्थाको भावना अझैसम्म पनि छ । हामी उनीहरु बिरुद्ध शक्ति प्रयोग गर्न चाहादैनौं । यदि उनीहरुको चेतना नै त्यहि हो भने हामी शिक्षित बनाउने प्रयास गर्छौं । तल्लो जातकोलाई अपमान गर्ने कसैको अधिकार हुँदैन भने कसैलाई पनि उच्च जातलाई सम्मान गर्न बाध्य गराउनु हुँदैन । हामी धर्म निरपेक्ष मुलुक बनाउन चाहान्छौं । सबैले आ-आफ्नो धर्म मान्न पाउनेछन् । राज्य सबै धर्महरुमा तटस्थ हुनेछ ।

 

तपाईं तपाईंको देशका जमिनदारहरुलाई कस्तो व्यवहार गर्नुहुन्छ ?

हामी अहिलेका जमिनदारहरुबाट जमिन लिन्छौं । र जस्ले खनजोत गरेको छ उसैलाई दिन्छौं । हामी अत्यन्तै शान्तिपूर्ण तरिकाले प्रयास गर्नेछौं । र, हामी पैसा नदिकनै जमिन लिने छैनौं । यदि जमिनदारले मानेनन् भने मात्रै हामी उनीहरुविरुद्ध बल प्रयोग गर्न बाध्य हुनेछौं ।

 

तपाई कलेक्टिभिजेसन (निजी जमिन जफत गरेर सामुहिक खेती गराउने सोभियत संघको प्रचलन)को पक्षमा वकालत गर्नुहुन्छ ?

हामी यसलाई कार्यान्वयन गर्न बल प्रयोग गर्ने छैनौं । तर, जनताको सेवा गर्न हामी नमूना सहकारीहरु स्थापनामा भने प्रोत्साहन गर्नेछौं ।

 

नेपालमा कम्युनिष्टको बहुमत आएमा वैदेशिक सहयोग कटौती हुने भन्ने कुरामा तपाई कत्तिको चिन्तित हुनुन्छ ?

कम्यनिष्ट सत्तामा आएकै कारणले नेपालमा वैदेशिक सहायता कटौती गर्नुपर्ने कुनै कारण नै छैन । तर, हामी हाम्रो देशको स्वतन्त्रता, मानप्रतिष्ठा र सार्वभौमसत्ताको मूल्य चुकाएर भने कुनै पनि वैदेशिक सहयोग माग्ने छैनौं । हामीलाई वैदेशिक सहयोग भन्दा यी कुराहरु महत्वपूर्ण छन् ।

 

भारततर्फ तपाईं कस्तो खालको पररास्ट्र नीतिको वकालत गर्नुहुन्छ?

भारतसँग विगतमा केहि असमान र अपमानजक सम्झौताहरु भएका छन् । हामी सन्धीको समीक्षा गरेर पुनरावलोकननको प्रयास गर्नेछौं । हामीलाई असमान र अपमानजनक हुने प्रावधानहरु हटाउन चाहान्छौं । हामीले चाहेको एकै कुरा भनेको चीन र भारतसँग समधुर सम्बन्ध बनाउनु हो । हामी न चीनपरस्त हुन चाहान्छौं न भारतपरस्त ।

 

जतिबेला नेपालमा जनताहरु राजतन्त्रबिरुद्ध आन्दोलनमा थिए, ठीक त्यति नै बेला अरु धेरै देशहरुका जनताहरु त्यहाँका कम्युनिष्ट शासकविरुद्ध उठेका थिए । यदि नेपालमा पनि यस्तै भयो भने तपाईं के गर्नुहुन्छ ?

हामी शक्तिमा हुन्जेल त्यस्तो कुनै प्रदर्शनहरु हुने छैनन् । तर, कहिलेकाही असामाजिक तत्वहरुले समाजमा भाँडभैलो मच्चाउने प्रयास गर्छन । यदि त्यस्ता प्रकारका मान्छेहरुले भाँडभैलो मच्चाउन खोजे भने हामी राज्यको शक्ति प्रयोग गर्दैनौं । तर, हामी जनताहरुलाई परिचालन गर्छौं । यदि उनीहरुले हाम्रोविरुद्ध प्रदर्शनहरु गरे भने हामी जनतालाई हाम्रो पक्षमा प्रदर्शन गर्न आग्रह गर्छौ । हामी प्रहरीको शक्ति प्रयोग गर्दैनौं ।

(यो सामग्री समीर प्रधानको फेसबुक टाईमलाईनबाट साभार गरिएको हो)