उदयपुर अस्पतालमा ४१ थान सिलिण्डर थप

२0७८ जेष्ठ ३ सोमबार
उदयपुर अस्पतालमा ४१ थान सिलिण्डर थप

उदयपुर, जेठ २

अक्सिजनको अभावमा देशका बिभिन्न अस्पतालमा कोविड संक्रमितको अकालमै ज्यान गईरहेका बेला उदयपुर अस्पतालले ४१ थान सिलिण्डर प्राप्त गरेको छ । जिल्ला प्रहरीले संकलन गरेको २४ थान खाली र १७ थान भरी अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई आईतबार बुझाएको हो । 


ती सिलिण्डर बजारका बिभिन्न ठाउँबाट संकलन गरेर अस्पताललाई बुझाइएको प्रहरीले जनाएको छ । कसैसँग खाली वा भरी अक्सिजन सिलिण्डर भए अस्पताललाई बुझाउन सरकारले गरेको निर्देशन अुनसार बिभिन्न व्यक्ति तथा संस्थाबाट ती सिलिण्डर संकलन भएको हो ।     


उदयपुर अस्पतालमा दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछि अक्सिजनको अभाव हुन नदिन जिल्ला अस्पताल र जिल्ला कोविड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले प्रयास गरिरहेको छ । यही क्रममा व्यक्ति र संस्थासँग भएका खाली तथा भरी सिलिण्डरको संकलन गरेर अस्पताललाई बुझाइएको प्ररही प्रमुख एसपी भीमबहादुर दाहालले बताए । 


यो सँगै उदयपुर अस्पतालमा अक्सिजनको समस्या हाललाई टरेको छ । अस्पतालसँग २५ थान सिलिण्डर यसअघि थियो । जसबाट अस्पताल भनाई भएर उपचाररत ५ जनामध्ये ३ जना संक्रमितलाई अख्सिजन दिएर उपचार भईरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले बताए । 


चौदण्डीगढी ६ को बेलटारस्थित उदयपुर कोविड अस्पतालमा १२ थान, बेलटार नगर अस्पतालमा १० थान, लिमचुङको बाराहास्थित गाउँ अस्पतालमा ५ थान र कटारी नगरपालिकामा ३ थान सिलिण्डर पनि मौज्दात रहेको जनाइएको छ । त्यसबाहेक नीजि अस्पतालहरुमा पनि धेरथोर अक्सिजन सिलिण्डरको जोहो रहेको जिल्ला अस्पतालले जनाएको छ ।