उदयपुरमा ४ संक्रमितको मृत्यु, १९ थपिए, १२ निको भए

२0७८ जेष्ठ २ आईतवार
उदयपुरमा ४ संक्रमितको मृत्यु, १९ थपिए, १२ निको भए

उदयपुर, जेठ २

कोविड संक्रमणले उदयपुरमा ४ जनाको आईतबार मृत्यु भएको छ । संक्रमण देखिएपछि उपचारको क्रममा रहेका त्रियुगा नगरपालिका १० का ६३ वर्षीय, त्रियुगा १२ का ४५ वर्षीय, त्रियुगा ३ का ४८ वर्षीय र चौदण्डीगढी ५ का ५६ वर्षीय पुरुषको छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको हो । 


त्रियुगा नगरपालिका १० का संक्रमितको चौदण्डीगढी ६ सातधारे बेलटारस्थित उदयपुर कोविड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्रियुगा ३ का संक्रमितको बिराटनगरस्थित नोबल अस्पतालमा र त्रियुगा १२ का संक्रमित बिराटनगरकै गृनक्रस अस्पतालमा मृत्यु भएको हो । त्यस्तै चौदण्डी ५ का पुरुषको झापास्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीले यो सँगै उदयपुरमा कोविडबाट मृत्यु हुनेको संख्या ३ महिलासहित ११ पुगेको बताए । यसअघि ३ महिलासहित ७ जनाको मृत्यु भईसकेको थियो । वैशाख ५ गते त्रियुगा ६ की ३४ वर्षीया महिलाको मृत्यु भएको थियो भने त्यसपछि कटारी ४ की ८३ वर्षीया बृद्धा, त्रियुगा ५ की ५५ वर्षीया महिलाको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको थियो । त्रियुगा ८ का एक ५० वर्षीय पुरुष र चौदण्डीगढी ५ र ६ का ५५ र ७० वर्षीय पुरुषको मृत्यु भएको थियो ।  


उदयपुरमा आईतबार मात्र १९ संक्रमित थपिएका छन् । यो सहित उदयपुरमा संक्रमित संख्या १ सय ६८ महिलासहित ३ सय ९८ पुगेको छ । आईतबार कोविड अस्पतालमा १३ नयाँ र १४ उपचाररतको फलोअप परीक्षण गर्दा २ महिलासहित ७ जना संक्रमित भेटिएका छन् । बाँकीलाई जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा परीक्षण गर्दा संक्रमित पुष्टि भएका हुन् ।


नयाँ संक्रमितहरु त्रियुगा नगरपालिकका ८ माहिलासहति १०, चौदण्डीगढीका ३ महिलासहित ६ र रौतामाईका २ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए । उनका अनुसार त्रियुगामा सबभन्दा बढी ७९ महिलासहित १ सय ९७ संक्रमित पुगेका छन् भने बेलकामा ३८ महिलासहित ६६ पुगेका छन् । चौदण्डीगढीमा २७ महिलासहित ५९ र कटारीमा १४ महिलासहित ३५ जनामा संक्रमण पुष्टि भएको छ ।


त्यस्तै रौतामाई गाउँपालिकामा ३ महिलासहित १५, लिमचुङबुङ गाउँपालिकामा ३ महिलासहित ८, उदयपुरगढी गाउँपालिकामा ३ महिलासहित ७ र ताप्ली गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको लुईटेलले बताए । हालसम्म निको हुनेको संख्या २३ पुगेको स्वास्थ्यको अभिलेखमा उल्लेख छ । 


कोविड अस्पतालमा मात्र ९ जनाले कोरोना परास्त गरेका छन् । १२ जना संक्रमणमुक्त भएकोमा अस्पतालमा उपचाररत ५ महिलासहित ९ र होम आईसोलेसनमा रहेका १ महिलासहित ३ जना रहेको नगर स्वास्थ्य प्रमुख पोखरेलले बताएका छन् ।