आज १८ थपिएसँगै उदयपुरमा संक्रमित संख्या ३७९

२0७८ जेष्ठ १ शनिबार
आज १८ थपिएसँगै उदयपुरमा संक्रमित संख्या ३७९

उदयपुर, जेठ ३

शनिबार ३ महिलासहित १८ जना नयाँ थपिएसँगै कोविड २ संक्रमितको संख्या उदयपुरमा ३ सय ७९ पुगेको छ । अघिल्लो दिन ६० नयाँ संक्रमित थपिएकोमा शनिबार १८ मात्र नयाँ देखिएका छन् । 


जसमध्ये १ सय ६१ महिला र पुरुष २ सय १८ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य प्रमुख मोहन सुबेदीका अनुसार पछिल्लो १० दिनयता जिल्लामा संक्रमितको संख्या तिब्ररुपमा बढ्दै गएको छ । सबभन्दा बढी संक्रमित त्रियुगा नगरपालिकामा ७३ महिला र १ सय १८ पुरुष गरी १ सय ९१ पुगेका छन् । 


दोस्रो ठूलो संक्रमण बेलका नगरपालिकामा ३८ महिला र २९ पुरुष गरी ६७ जना छन् भने चौदण्डीगढी नगरपालिकामा २६ महिला र ३० पुरुष गरी ५६ जना रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताएका छन् । कटारी नगरपालिकामा १४ महिला र २१ पुरुष गरी ३५, रौतामाई गाउँपालिकामा ३ महिला ११ पुरुषसहित १४, लिमचुङबुङ गाउँपालिकामा ३ महिलासहित ८ र उदयपुरगढी गाउँपालिकामा ३ महिलासहित ७ मा संक्रमण देखिएको छ । 


जिल्लामा हालसम्म कोविडका कारण ४ महिला र ३ पुरुष गरी ७ जनाको कोविडले ज्यान गईसकेकोछ । त्रियुगामा २ महिलासहित ४, कटारीमा १ महिला र चौदण्डीगढीमा २ पुरुषको ज्यान गएको लुईटेलले बताएका छन् । 


संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोविड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले गत वैशाख २५ देखि निशेधाज्ञा लागू गर्दै आएको छ । पहिलो चरणमा वैशाख मसान्तसम्म लागू गरेको निशेधाज्ञा संक्रमित दर झन् बढ्न थालेपछि जेठ पहिलो सातासम्मका लाथि थप्ने निर्णय गरेको डिसिसिएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए ।