उदयपुरमा एकैदिन ५० संक्रमित थप, गाईघाटमा ४० र कोविड अस्पतालमा ६० बेड आईसोलेसन बनाइने

२0७८ बैशाख ३१ शुक्रबार
उदयपुरमा एकैदिन ५० संक्रमित थप, गाईघाटमा ४० र कोविड अस्पतालमा ६० बेड आईसोलेसन बनाइने

उदयपुर, वैशाख ३१

उयदपुरमा हालसम्मकै बढी एकैदिन ५० जनामा कोविड संक्रमित थपिएका छन् । जिल्ला अस्पताल, उदयपुर कोविड अस्पताललगायत बिभिन्न स्वास्थ्य संस्थामा एन्टीजेन परीक्षण गर्दा २१ महिलासहित ५० जना नयाँ संक्रमित भेटिएका हुन् ।


शुक्रबार ५० जना संक्रमति फेला परेको जनाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । उनका अनुसार शुक्रबार परीक्षण गरेको रिपोर्ट मंगलबार मात्र आउने भएकाले यो संख्या बिहीबारसम्मको मात्र हो । बिहीबारसम्म सक्रिय संक्रमित संख्या ३ सय ६१ हो । नयाँ संक्रमित त्रियुगा नगरपालिकामा सबभन्दा बढी ९ महिलासहित २१ जना छन् ।  


त्यस्तै चौदण्डीगढीमा ३ महिलासहित ११, लिमचुङबुङ गाउँपालिकामा ४ महिलासहित ७ जना, बेलकामा २ महिलासहित ५ , रौतामाईमा ४ पुरुष संक्रमित भेटिएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए । शुक्रबार देखिएका संक्रमतिको संख्या भने शनिबार मात्र अद्यावधि हुने भएकाले यो बिबरणमा संलग्न गरिएको छैन ।

 

उदयपुरमा संक्रमितमध्ये हालसम्म १३ जना निको भएर घर फर्केका छन् । उदयपुर कोविड अस्पतालबाट ९ जना निको भएर शुक्रबार डिस्चार्ज भएका छन् भने यसअघि ४ जना निको भएका थिए । संक्रमितमध्ये हालसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 

दिनहुँ कोविड संक्रमित बढ्दै गएपछि बढीभन्दा बढी संभावित विरामीको उपचार गर्ने उदेश्यले उदयपुरमा अक्सिजनसहितको उपचार गर्न आईसोलेसन शैया (बेड) संख्या थप्ने तयारी भईरहेको छ । दैनिक दर्जनौं संक्रमित भेटिन थालेपछि सदरमुकाममा ४० बेडको आईसोलेसन सेन्टर स्थापना गर्ने तयारी भएको हो । 


हाल कोविड संक्रमितहरुको उपचार चौदण्डीगढी नगरपालिका ७ बेलटारस्थित उदयपुर कोविड अस्पतालमा अधिकांशको भईरहेको छ भने जिल्ला अस्पतालमा सामान्य संख्यामा भईरहेको छ । त्यसैगरी कटारी, रामपुर र लिमचुङबुङ अस्पतालमा पनि केही बिरामीको उपचार भईरहेको छ । 


यसैबीच, जिल्ला अस्पतालमा २० थान अक्सिजन सिलिण्डरसहित उपचार सेवा सुचारु भएको छ । अक्सिजन दिएर गर्नुपर्ने उपचारका लागि भने अस्पताल सक्षम रहेको र हाल ५ जनालाई अक्सिजन दिएर उपचार गराईराखिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले बताए । 


उनका अनुसार जटिल खाले कोविड संक्रमितलाई वार्ड भर्ना गरेर उनीहरुलाई अक्सिजन दिएर उपचार भईरहेको छ । अस्पतालमा विरामीको संभावित चापलाई ध्यान दिदै सञ्चालनमा आउन बाँकी रहेको त्रियुगा आँखा अस्पतालमा ४० शैयाको अक्सिजनसहितको आईसोलेन सेन्टर बनाउने तयारी भईरहेको छ । 


त्यसैगरी उदयपुर कोविड अस्पतल बेलटारमा १२ थान अक्सिजन सिलिण्डरको व्यवस्था गरेर उपचार सेवा चलिरहेको छ । उदयपुर कोविड अस्पतालमा हाल २५ जना संक्रमितको उपचार भईरहेको छ । २२ बेडको कोविड अस्पताललाई अव ६० बेडमा स्तरोन्नति गर्ने तयारी भईरहेको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए । केहीदिनअघि प्रदेश सरकारले पठाएको २० लाख रुपैंया अस्पतालको स्तरोन्नति गर्न खर्च गर्ने तयारी भईरहेको पनि मेयर राईले बताएका छन् । 


उता कटारी नगर अस्पताल र नीजि असप्तालहरुमा २५ थान अक्सिजन सिलिण्डरसहतिको सेवा दिने तयारी भएको कटारी नगरपालिकाले जनाएको छ । त्यसैगरी लिमचुङबुङमा ५ थान अक्सिजन सिलिण्डर ल्याएर शुक्रबारदेखि बिरामीको सेवा सुचारु गरिएको वडाध्यक्ष भीम किरातीले बताए । उनका अनुसार वडा नं. १ बाँसबोटेमा एउटै टोलमा ८ जना संक्रमित देखिएकोमध्ये १ जनाको कोविड अस्पताल बेलटारमा उपचार भईरहेको छ भने बाँकीलाई बाराहास्थित गाउँ अस्पतालमै उपचार सुरु गरिएको छ । 


उदयपुर अस्पतालमा झण्डै एकवर्षअघि नै ५ शैया आईसियुसहित २ शैया भेन्टिलेटरको व्यवस्था गरिएको भए पनि जनशक्ति अभावले सञ्चालनमा ल्याउन सकिएको छैन । मेसु डा. जीवनारायण मण्डलका अनुसार पटकपटक माग गर्दा पनि एनेस्थेसिया (लट्याउने) स्वास्थ्यकर्मी पाउन नसकेपछि अहिलेसम्म भेन्टिलेटर र आईसियु सञ्चालनमा ल्याउन सकिएको छैन ।