उदयपुरमा थप ३५ संक्रमित, निशेधाज्ञा एकसाता थपिने

२0७८ बैशाख ३0 बिहीबार
उदयपुरमा थप ३५ संक्रमित, निशेधाज्ञा एकसाता थपिने

उदयपुर, वैशाख ३०

कोविड संक्रमण बढ्ने क्रम नरोकिएपछि उदयपुरमा थप एकसाता निशेधाज्ञा लम्ब्याउने तयारी हुँदैछ । कोविड संक्रमित भटाभट देखिन थालेपछि गत २५ गते रातिदेखि जिल्लामा सातादिनका जारी गरिएको निशेधाज्ञा शुक्रबार राति सकिदैछ ।  


हरेक दिन संक्रमितको संख्या बढिरहेकाले निशेधाज्ञा अवधि लम्ब्याउन आवश्यक देखिएको भन्दै जिल्ला कोविड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सातादिन निशेधाज्ञा जारी गर्न सिफारिस गरेको हो । बिहीबार बसेको बैठकले संक्रमित बढ्ने क्रम नरोकिएकाले निशेधाज्ञा लम्ब्याउन सिफारिस गरेको डिसिसिएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए । 


उनका अनुसार डिसिसिएमसीको सिफारिस अनुसार प्रशासनले निशेधाज्ञा लम्ब्याउने तयारी गरिरहेको छ । डिसिसिएमसीले गरेको सिफारिस अनुसार अव प्रशासनले निर्णय गरेर थप एकहप्तालाई निशेधाज्ञा जारी गर्ने उनले बताए । मानव चलखेल जति कम भयो, उत्ति संक्रमण कम गर्न सकिने भएकाले निशेधाज्ञा लम्ब्याउनु परेको सिडिओ सेंढाईको भनाई छ ।


उदयपुरमा बिहीबार दिउँसोसम्म ३ सय ११ मा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनसम्म २ सय ७९ संक्रमित देखिएकोमा बिहीबार १४ महिलासहित ३५ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । संक्रमितमध्ये १ सय ३२ महिला छन् भने १ सय ७९ पुरुष रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए । उनका अनुसार संक्रमितहरु त्रियुगा नगरपालिकाका २७ र चौदण्डीगढी नगरपालिकाका ८ जना रहेका छन् ।


जसमध्ये उदयपुर कोविड अस्पताल बेलटारको आईसोलेसन सेन्टरमा २२ जनाको र केहीको बिराटनगर, धरान र काठमाडौंमा उपचार भईरहेको छ । हालसम्म २ महिलासहित ४ जना निको भएर घर फर्केका छन् भने ३ महिलासहित ७ जनाको ज्यान गएको छ ।