अव जिल्ला अस्पतालमै कोविड उपचार हुने

२0७८ बैशाख २९ बुधबार
अव जिल्ला अस्पतालमै कोविड उपचार हुने

उदयपुर, वैशाख २९

कोविड संक्रमित बिरामीलाई अव जिल्ला अस्पतालबाटै उपचार सेवा दिने व्यवस्था प्रदेश सरकारले गरेको छ । अस्पताल खोज्दाखोज्दै संक्रमितको ज्यान जान थालेपछि जिल्ला अस्पतालमै उपचार सेवाको व्यवस्था मिलाउन लागिएको हो । 

 

बुधबार बसेको प्रदेशसभा सामाजिक विकास समिति बैठकले १ नं. प्रदेशभरीका सबै जिल्ला अस्पतालमा कोविड संक्रमितको उपचार गर्न निर्देशन दिएको हो । समितिले प्रदेशका उदयपुर, सुनसरी, धनकुटा, पाँचथर र संखुवासभा जिल्ला अस्पतालमा उपचार गर्न सक्ने सबैखाले पूर्वाधार तयार रहेकाले तत्काल कोभिड उपचार सेवा सुरू गर्न निर्देशन दिएको हो । बाँकी जिल्ला अस्पतालमा पनि आवश्यक पूर्वाधार तयार गरी कोविड संक्रमितको उपचार सेवा सुरू गर्न निर्देशन दिएको प्रदेशसभा सामाजिक विकास समितिकी सभापति सरिता थापाले बताइन् ।

 

समितिले सबै निजी अस्पतालमा पनि कोविडको उपचार सुरू गर्न निर्देशन दिएको छ । प्रदेश सरकारले गतवर्ष नै स्थापना गरेको कोशी कोभिड अस्पताल हाल बन्द रहेको तथा धरानको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ५० वेडमध्ये ३० वेड मात्रै सञ्चालनमा रहेकाले दुवै अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सामाजिक विकास मन्त्रीलाई निर्देशन दिएको छ । 


समितिले स्थानीयतहहरूको सहकार्यमा आइसोलेसन र होल्डिङ सेन्टर बनाउने, सीमानाकामा थप कडाई र व्यवस्थापन गर्ने, अक्सिजन आपूर्ति व्यवस्थित बनाउन २४ सै घण्टा विद्युत आपूर्ति सहज बनाउन पनि निर्देशन दिएको छ । 


प्रदेशबासी नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउन, पहिलो डोज लगाएकालाई दोस्रो डोज खोपको व्यवस्था गर्न पनि आग्रह गरेको छ । त्यस्तै अनुगमनका क्रममा विएण्ड सि र विराट मेडिकल कलेजले विरामीसँग अनुचित धरौटी लिइरहेको पाइएकाले निजी अस्पतालले धरौटी लिन नपाउने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।  

 

 

उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बेलटारस्थित सातधारेरमा गतवर्षदेखि नै 'उदयपुर कोविड १९ अस्पताल' सञ्चालनमा छ । त्यहाँ हालसम्म २२ संक्रमितको उपचार भईरहेको छ । जिल्ला अस्पतालमा पनि कोविडको उपचार हुने भए पछि जिल्लाबासीलाई केही सहज हुने अपेक्षा गरिएको छ ।