उदयपुरमा कोविडले थप ३ को मृत्यु, मंगलबार ९ संक्रमित थपिए

२0७८ बैशाख २८ मंगलवार
उदयपुरमा कोविडले थप ३ को मृत्यु, मंगलबार ९ संक्रमित थपिए

उदयपुर, वैशाख २८


उदयपुरमा कोविड १९ ले सरकारी कार्यालय प्रमुखसहित थप ३ जनाको मृत्यु भएको छ । सदरमुकामस्थित एक सरकारी कार्यालयका ३४ वर्षीय अधिकृतसहित २ पुरुष र एक महिलाको मृत्यु भएको हो । 


कार्यालय प्रमुखका उपचारको क्रममा सोमबार काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पतालमा सोमबार साँझ मृत्यु भएको हो भने महिला र पुरुष २ जनाको मंगलबार विहान बिराटनगरको छुट्टाछुट्टै अस्पतालमा ज्यान गएको छ । जिल्ला कोविड शंकट व्यवस्थापन कार्यालय (डिसिसिएमसी) का अनुसार संक्रमित देखिएपछि टिचिङमा उपचाररत कार्यालय प्रमुख सिराहाका स्थायी बासिन्दा हुन् । कोविड सुरुतिरै घर बिदामा गएका उनी संक्रमित भएपछि उपचारमा थिए । 


यता त्रियुगा नगरपालिका ८ का ५४ वर्षीय पुरुष र त्रियुगा ५ की ५० वर्षीया महिलाको मंगलबार विहान विराटनगरस्थित नोबेल र कोसी कोविड अस्पतालमा मृत्यु भएको हो । नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार ज्वरो र रुघाखोकी लागेर आएका पुरुषको स्वाव परीक्षण गर्दा संक्रमण देखिएपछि भर्ना गरेर उपचार भईरहेको थियो । वैशाख २३ गते भर्ना भएका उनको मंगलबार बिहान मृत्यु भएको दाहालले बताए । 


अर्की मृतक ५० वर्षीया महिलाको कोसी कोविड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालका कोविड फोकलपर्सन बैजनाथ साहका अनुसार वैशाख २६ गतेदेखि उपचाररत उनको मंगलबार विहान मृत्यु भएको हो । 


तर, जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको अभिलेखमा भने कार्यालय प्रमुखको काठमाडौंमा मृत्यु भएको तथा त्रियुगा ५ की महिलाको मृत्युबारे उल्लेख छैन । त्रियुगा ८ का ५४ वर्षीय पुरुषको मृत्युको मात्र अभिलेख रहेको छ ।


यसअघि उदयपुरमा कटारी ४ की ८७ वर्षीया बृद्धा, त्रियुगा ६ की ३४ वर्षीया महिला र चौदण्डीगढी ५ का ५४ र ६ का ७० वर्षीय पुरुष गरी ४ जनाको कोविडले ज्यान लिइसकेको छ । थप ३ सँगै मृतक संख्या उदयपुरमा ७ पुगेको छ ।


उदयपुरमा हालसम्म कोविड संक्रमितको संख्या २ सय ४७ पुगेको छ । मंललबार मात्र ३ महिलासहित ९ जना नयाँ संक्रमित देखिएका छन् । पछिल्ला संक्रमितहरुमा त्रियुगाका २ महिलासहित ४ पुरुष, बेलकाका २ पुरुष र चौदण्डीगढीका १ महिला छन् । सातादिनमा ह्वात्त बढेको संक्रमितहरुमा १ सय ६ जना महिला छन् भने बाँकी पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 


संक्रतिमध्ये ६ जना निको भईसकेका छन् भने उदयपुर कोविड अस्पतालमा ५ महिलासहित १५ को उपचार भईरहेको छ । केहीको बिराटनगर, धरान र धेरैजसो होम आईसोलेसनमै रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए ।