वीरेन्द्र बजार आगलागी पीडितलाई नगरको राहत, केहीदिनभित्र घर पुननिर्माण गरिदिने

२0७८ बैशाख २७ सोमबार
वीरेन्द्र बजार आगलागी पीडितलाई नगरको राहत, केहीदिनभित्र घर पुननिर्माण गरिदिने

अघिल्लो दिन विहान आगलागीबाट टोलै सखाप भएको चौदण्डीगढी नगरपालिका ८ वीरेन्द्र बजारका पीडितलाई नगरपालिकाले राहत उपलब्ध गराएको छ । नगरपालिकाले वडा कार्यालयमार्फत तत्काललाई खाना पकाउने भाँडाकुँडा, ओढ्ने त्रिपाल, खाने थाल बटुका, चामल, दाल, नुन, तेलजस्ता खाद्यान्न र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिएको छ । 


पीडितलाई सबभन्दा नभई नहुने तात्कालीक आवश्यक्ता खाना, नाना र छानाको व्यवस्था केहीदिनका लागि नगरपालिकाबाट गरिदिएको नगरप्रमुख खगेन्द्र राईले बताए । उता स्थानीय क्लब तथा संघसंस्थाहरुले पनि पीडितलाई आईतबारै केही राहत सहयोग उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । 


नगरपालिकाले स्थानीय समाधानका लागि केहीदिनभित्रै पीडितहरुको घर पुननिर्माण गर्न आर्थिक सहयोग प्रदान गर्ने तयारी गरेको मेयर राईले बताएका छन् । चौनपाले आगलागीमा परेर घरविहीन भएकाहरुलाई पुननिर्माण गर्न ३ लाखसम्म नगदै सहयोग गरिदिने गरेको छ । 


नगरबासीलाई आगलागीबाट बिपत परेका बेला सहयोग गर्न कार्यविधि नै बनाएर ३ लाखसम्म नगद सहयोग गर्ने गरेको मेयर राईले बताए । ३ लाखसम्मको घर बनाउनुपर्दा नगरपालिकाले नै बनाई दिने गरेको छ भने सो भन्दा बढी खर्चमा घर बनाउनेहरुलाई नगै ३ लाख उपलबध गराउने गरेको मेयर राईले बताए । 


वीरुेन्द्र बजारका भरत राईको घरमा विद्युत सर्ट भएर आईतबार विहान झिसमिसेमा आगलागी हुँदा उनकोसहित टोलका ५ घर जलेर नष्ट भएका थिए भने २ स्थानीयको मोटरसाईकल र ट्याक्टर जलेर क्षति भएको थियो । विहान ४ः१५ बजे लागेको आगोले राईको ३५ लाख बराबरको क्षति भएको थियो भने छिमेकी पदमकुमारी मगरको ३० लाख, शिरिर राईको २० लाख बराबरको घरसहित धनमाल जलेको थियो । 


त्यस्तै अर्का छिमेकी बादलविक्रम राईको १२ लाख बराबरको घर, सोही घरमा बस्दै आएकी उनकै दिदी मुना राईको ३ लाख कृष्ण मगरको १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ । आगोले पार्किङ गरिराखेको  केशव बयलकोटीको स ८ प २७२५ नं. को मोटरसाईकल र को २ त ८२३० नं. को ट्याक्टर जलेर ९ लाख र लाबहादुर राईको बा १३ प ८४८० नं. को मोटरसाईकलमा १ लाख बराबरको नोक्सान भएको प्रहरीले जनाएको छ । 


इप्रका बेलटारका निरीक्षक छेचुन्जो भोटेका अनुसार ५ घरसहित ७ घरधुरी परिवारको १ करोड २० लाखको नोक्सानी आगोले गरेको छ ।