वीरेन्द्र बजारमा आगलागीले ५ घर खरानी १ करोड २० लाखको क्षति 

२0७८ बैशाख २६ आईतवार
वीरेन्द्र बजारमा आगलागीले ५ घर खरानी १ करोड २० लाखको क्षति 

बेलटार, वैशाख २६


उदयपुरको चौदण्डीगढी नगरपालिका ८ वीरेन्द्र बजारमा आईतबार विहान भएको आगलागीबाट एकै ठाउँका ५ घर जलेर नष्ट भएका छन् भने थप २ स्थानीयको पनि धनमाल क्षति पुगेको छ । स्थानीय भरत राईको घरमा विहान ४ः१५ बजे  विद्युत सर्ट भई आगलागी हुँदा उनको सँगै छिमेकी आधादर्जनको घर र धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 


सबै ओछ्यामै रहेका बेला झिसमिसे उज्यालोमा एक्कासी फैलिएको आगोले राईको घर र  घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट भएको छ भने ४ घर छिमेकीको पनि घर र घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट भएको २ छिमेकीको ट्याक्टर र मोटरसाईकल जलेर क्षति भएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ । 


आगोले राईको काठ र टिनको छानो भएको १ तले घर जल्दा घरमित्र रहेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर, महत्वपूर्ण कागजात सबै जलेर ३५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । छिमेकी शिरिर राईको टिनको छानो र काठले बनेको १ तले घर जल्दा २० लाख बराबरको क्षति भएको छ भने अर्का छिमेकी बादलविक्रम राईको काठ र टिनले बनेको १ तले घर जल्दा १२ लाख बराबरको क्षति भएको छ । सोही घरमा बस्दै आएकी उनकी दिदी मुना राईको अन्नपात, लत्ताकपडा, भाँडाबर्तनसमेत गरी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


आगोले बजारकै पदमकुमारी मगरको काठ र टिनको १ तले घर जल्दा ३० लाख बराबरको धनमाल नष्ट भएको छ भने अर्का किछेमी कृष्ण मगरको त्यस्तै काठ र टिनको १ तले घर जलेर १० लाख बराबरको क्षति भएको प्रहरी ठहर छ । नजिकै पार्किङ गरिराखेको स्थानीय केशव बयलकोटीको स ८ प २७२५ नं. को मोटरसाईकल र को २ त ८२३० नं. को ट्याक्टरमा आगोले क्षति गरेर ९ लाख बराबरको नोक्सान गरेको छ । अर्का स्थानीय लाबहादुर राईको बा १३ प ८४८० नं. को मोटरसाईकलमा आागेले १ लाख बराबरको क्षति गरेको छ । 


आगलागीबाट ५ घरसँगै स्थानीय ७ घरधुरी परिवारको १ करोड २० लाख हाराहारी क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घट्नाबारे बिस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


आगलागी भएको खवर पाएल्गत्तै खटेको इप्रका बेलटारका निरीक्षक कमाण्डको प्रहरी टोलीले बेलटारकै सशस्त्र प्रहरी बल, नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा अढाईघण्टापछि विहान ६ः३० बजेसम्ममा आगो पूर्णरुपमा नियन्त्रणमा ल्याउन सफल भएको छ ।