नक्कली स्टीकर टाँसेर औषधि बेच्ने मेडिकल सञ्चालकसहित२ पक्राउ

२0७८ बैशाख २५ शनिबार
नक्कली स्टीकर टाँसेर औषधि बेच्ने मेडिकल सञ्चालकसहित२ पक्राउ

गाईघाट, वैशाख २५


कोविड महामारीमा औषधि र अक्सिजन अभावले उपचार नपाएर संक्रमितको ज्यान गईरहेका बेला नक्कली लेबल टाँसेर महँगो शूल्कमा औषधि बिक्री गर्ने मेडिकल सञ्चालकसहित दुईजना पक्राउ परेका छन् । सस्तो औषधिको बट्टामा नक्कली स्टीकर टाँसेर महँगोमा बिक्री गर्ने मोरङको बिराटनगर महानगरपालिका ४ स्थित साथी मेडिकल सञ्चालक २६ वर्षीय सोनु आलम र २३ वर्षीय श्रबणकुमार यादव पक्राउ परेका हुन् ।     


आलम बिराटनगर १० अशोकचोकका स्थायी बासिन्दा हुन् भने यादव बिराटनगर १६ रानीका हुन् । कोविडविरुद्धको स्टासेफ नामक सस्तो औषधिको बट्टामा नयाँ लेबल टाँसेर महँगो मूल्यमा बेचेको आरोपमा शुक्रबार उनीहरु मध्यान्ह पक्राउ परेका हुन् । औषधि कालोबजारी कार्यमा संलग्न भएको भन्ने विशेष सूचनाका आधारमा खटेको मोरङ प्रहरीले स्टासेफ ४ बट्टा र रेम्डेसिभिर नामक १ बट्टा औषधिसहित रंगेहात पक्राउ परेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 


आफ्नै मेडिकलबाट पक्राउ परेका आलममाथिको प्रारम्भिक अनुसन्धानमा यादवको पनि संलग्नता भएको खुलेपछि रानीस्थित घरैबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रदेश प्रहरी प्रवक्ता एसपी महेन्द्र श्रेष्ठले बताए । पक्राउमध्ये यादव लागुऔषध ब्राउनसुगर घट्नामा फरार अभियुक्तसमेत रहेको खुलेको छ । उनी ०७७ कात्तिक २५ गते बिराटनगर ११ बसपार्कनजिकैको रातो भाले होटमा १० ग्राम ब्राउनसुगर बरामद घट्नामा संलग्न भई फरार अभियुक्त रहेको प्रहरी भनाई छ । 


दुईसय आलमलाई कालाबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ भने यादवलाई लागूऔषध र केही अन्य सामाजिक अपराध ऐन अनुसारको दोहोरो मुद्धामा अनुसन्धान सुरु भएको एसपी श्रेष्ठले बताएका छन् ।