कोरोना रोक्न प्रदेश सरकारको बजेट, उदयपुरलाई ३५ लाख

२0७८ बैशाख २४ शुक्रबार
कोरोना रोक्न प्रदेश सरकारको बजेट, उदयपुरलाई ३५ लाख

गाईघाट, वैशाख २४


प्रदेश १ सरकारको कोविड–१९ जनसुरक्षा कोषले १४ वटै जिल्लामा कोविड नियन्त्रण गर्न रकम निकासा गरेको छ । बिहीबारको प्रदेश १ कोविड जनसुरक्षा कोष सञ्चालक समितिको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरुमा कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक सुरक्षा सतर्कता अपनाउन ४ करोड १५ लाख रुपैंया निकासा गरेको जनाएको छ । 


मुख्यमन्त्री शेरधन राई नेतृत्वको कोष सञ्चालक समितिले प्रदेश आपूर्ति केन्द्र (कोसी अस्पताल, कोविड १९ उपचार केन्द्रलगायत स्वास्थ्य संस्थाहरुलाई सेनिटाईजर, पिपिई सेट, मास्क, एन्टीजेन किट र आकस्मिक औषधि र कोविड रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सामग्री खरिद गर्न ५० लाख निकासा दिएको छ । 


प्रदेश सरकारले झापाको भद्रपुरस्थित मेची अस्पतालमा कोविड उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्न २५ लाख, सुनसरी र धनकुटा जिल्ला अस्पताल तथा उदयपुर कोविड अस्पताल (आईसोलेसन सेन्टर) बेलटारलाई २० लाखका दरले निकासा दिएको छ । जिल्ला अस्पताल उदयपुर, पाँचथर, तेरथुम, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, इलाम र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टमा आईसोलेसन स्थापना, सञ्चालन र उपचार सेवा गर्न प्रत्येकलाई १० लाखका दरले रकम निकासा दिएको  छ । 


झापा जिल्ला प्रशासन कार्यालयलाई २ हजार ५ सय क्षमताको स्थायी हेल्पडेक्स तथा स्कृनिङ पोईन्ट निर्माण गरी १५ दिन चलाउन र १ हजार क्षताको होल्डिङ सेन्टर १५ दिनका लागि २० लाख, सुनसरी जिल्ला प्रशासन र ओखलढुंगाको हर्कपुरलाई होल्डिङ सेन्टर निर्माण र सञ्चालन गर्न १५–१५ लाख दिएको छ भने मोरङ प्रशासनलाई सोही प्रयोजनका लागि २० लाख दिएको छ । 


जिल्ला प्रशासन इलामलाई एम्बुलेन्स, शवबाहन चालकलाई भत्ता, शव व्यवस्थापन तथा भारतीय सीमानाका पशुपतिनगरमा क्वारेन्टीन र होल्डिङ एरिया सञ्चालन तथा आकस्मिक सेवाका लागि १५ लाख दिएको छ । अन्य जिल्ला प्रशासन कार्यालयहरु उदयपुर, भोजपुर, तेरथुम, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, पाँचथर र तेरथुमलाई होल्डिङ सेन्टर सञ्चालन खर्चवापत प्रत्येकलाई ५ लाखका दरले निकासा दिएको सुरक्षा कोष सञ्चालक समितिले जनाएको छ ।